चितवन विशेष

हाकिमचोकदेखि सीतामाई सडक खण्डको मेयर दाहालद्धारा शिलान्यास

Banner

चितवन, जेठ २५–

भरतपुर महानगरपालिका वडा नम्बर–८ स्थित अशोकचोकदेखि डेरीचोकसम्मको सडक स्तरोन्नती गरिने भएको छ । हाकिमचोक–धारेचोक–पाँडेघुम्ती–सीतामाई सडक खण्डको अशोकचोकदेखि डेरीचोकसम्मको सडकको ४ किलोमिटर सडकको बुधबार शिलान्यास गरिएको छ ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बुधबार विहान एक कार्यक्रमका बीच सो सडकको शिलान्यास गरेकी छन् । वागमती प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको ६ करोड ८५ लाख ४३ हजार ६ सय २८ रुपैयाँको लागतमा सडक निर्माण हुन लागेको पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख वीरेन्द्र कुमार चौधरीले जानकारी दिए। ओम सत्यसाई कन्ट्रक्सन प्रालि भरतपुर–९ ले निर्माण गर्ने सडक ७ मिटर चौडा हुनेछ ।

२०८० साल मंसिरमा निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको कार्यालयका प्रमुख चौधरीले बताए। यसअघि हाकिमचोकदेखि अशोकचोकसम्मको ३ दशमलव ८ किलोमिटर सडक भरतपुर महानगरपालिले निर्माण गरिसकेको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै मेयर दाहालले यस सडक खण्डको काम समयमै सम्पन्न हुनेमा विश्वास व्यक्त गरिन् । ‘अहिले जसले ठेक्का पाउनु भएको छ, उहाँले समयमै सम्पन्न काम गरेबापत पुरस्कृत हुने ठेकेदार हुनुहुन्छ, मलाई आशा छ यस सडकबाट पनि उहाँ पुरस्कृत हुनुहुनेछ’–मेयर दाहालले भनिन् । उनले विगतदेखि नै यस सडक खण्ड स्तरोन्नतीका लागि वडा अध्यक्षलगायतले आफूलाई झकझकाई रहेको भन्दै ठूलो बजेट भएकाले बागमती प्रदेश सरकारलाई अनुरोध गरेपछि बजेट प्राप्त भएको बताइन् । उनले यसअघिको आफ्नो कार्यकालमा वडा नं.८ मा मात्रै ७० वटा बाटो निर्माण भएको भन्दै यस वडामा विकास निर्माणका काममा आफूले जहिले पनि सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको बताइन् ।

 

वडा नं.८ का अध्यक्ष जीवनाथ कंडेलले सडक निर्माणका लागि सहयोगी भूमिका खेलेकोमा महानगर प्रमुख दाहाललाई धन्यवाद दिए । उनले आफ्नो वडामा विकास निर्माणलाई तिव्रता दिने भन्दै मेयर दाहाललाई अन्य सहयोगी भूमिका निर्वाह गरिदिन आग्रह गरेका थिए । कार्यक्रममा निवर्तमान वडा अध्यक्ष दामोदर न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>