चितवन विशेष

‘मौसम पूर्वानुमान बारे चनाखो बनौं’

Banner

चितवन, जेठ २२–

नेपालमा मौसम पूर्वानुमानको बेवास्ता र समयमै सूचना नपुग्दा धेरै क्षति व्यहोर्नु परेको सरोकारवालाले बताएका छन् ।

दातृनिकायहरुको साझेदारीमा रत्ननगर नगरपालिकाले आज सौराहामा आयोजना गरेको मौसम पूर्वानुमान, प्रभावकारी सूचना तथा सन्देश सम्प्रेषण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उनीहरुले मौसम बारे प्रभावकारी समन्वय नहुँदा वर्षेनी क्षति व्यहोर्नुपरेको बताएका हुन् । जल तथा मौसम विज्ञान विभागका विज्ञ मौसम भण्डारीले विभागले बेलैमा सूचना प्रवाह गर्दा पनि सम्बन्धित पक्षले ध्यान नदिदा धेरै क्षति हुने गरेको बताए ।

कतिपयले बेलैमा सूचना पाउँदा पनि बेवास्ता गर्ने गरेकाले समस्या सिर्जना भइरहेको उनले बताए । विभागले सहज रुपमा सूचना दिने प्रणालीलाई व्यवस्थित गर्दै लगेको भण्डारीले बताए । कार्यक्रममा नेटिजन नेपालका प्रमुख प्रकाश घिमिरेले विभागले जारी गरेका सूचनामा उल्लेख भएका शब्दका कारण आमलक्षित वर्गको बुझाईमा समस्या हुने गरेको बताए । उनले सहज भाषा र शब्दमा सूचना जारी गर्न आग्रह गर्दै संचारमाध्यमहरुले पनि श्रोता र पाठकले सहज रुपमा बुझ्ने भाषामा त्यस्ता सूचनाहरु प्रशारण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले समयमै मौसम बारे सूचना पूर्वानुमान गर्न नसक्दा देश पछाडी परिरहेको बताए । उनले मौसम बारे पूर्वानुमान गर्न सक्ने प्रणालीलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए स्थानीयबासीन्दाहरु पनि यसबारे चनाखो रहन आग्रह गरे ।

एसियाली प्रकोप पूर्वतयारी केन्द्र (एडीपीसी)का नेपाल प्रतिनिधि मान थापाले मौसमबारे पूर्वानुमानको सूचना संचारमाध्यमबाट नै जनतामासहज रुपमा पुर्‍याउन सकिने भन्दै यसलाई प्रभावकारी रुपमा लैजानुपर्ने बताए । कार्यक्रममा भरतपुर महानगरपालिकाका आपत्तकालीन कार्यसंचालन केन्द्रका प्रमुख बालकृष्ण थपलियाले महानगरले गरे कार्यहरुको बारेमा जानकारी गराएका थिए । उनले महानगरले उद्धारका लागि चाहिने सामग्री खरिददेखि संभावित जोखिम कम गर्नका लागि अहिलेदेखि कामहरु गरिरहेको जानकारी गराएका थिए ।

कार्यक्रममा रेडक्रस, स्थानीय तहका विपद् व्यवस्थापन शाखाका प्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई एपीपी, एनडीआरसी, एडीपीसी, बिल मेलिन्दा गेट्स फाउण्डेशनले सहकार्य गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>