चितवन विशेष
चितवनमा थारु समुदायबाट निर्वाचित जनप्रतिनिधिलाई थारू पत्रकार संघको सम्मान

चितवन, जेठ २२–
थारु पत्रकार संघ, चितवन शाखाले जिल्लामा थारु समुदायबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
शनिबार एक कार्यक्रमकाबीच संघले माडी नगरपालिकाको प्रमुखमा निर्वाचित तारा कुमारी काजी महतोलगायत ५५ जना जनप्रतिधिहरुलाई एकसाथ सम्मान गरेको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद रामलाल महतोले सम्मान पत्र प्रदान गरेका थिए ।
थारु समुदायको प्रतिनिधित्व गर्दै माडीमा प्रमुख र उप्रमुख नै निर्वाचित भएका छन् । यस्तै एक जना वडा अध्यक्ष र ७ जना वडा सदस्यमा निर्वाचित भएका छन् ।
त्यस्तै खैरहनी नगरपालिकामा ३ जना वडा अध्यक्ष १५ जना वडा सदस्य निर्वाचित भएका छन् । यसैगरि रत्ननगर नगरपालिकामा ४ जना वडा अध्यक्ष र ११ जना वडा सदस्यमा निर्वाचित भएका छन् ।
भरतपुर महानगरपालिकामा एक जना वडाअध्यक्षसहित ५ जना सदस्यमा थारु समुदायबाट निर्वाचित भएका छन् । राप्ती नगरपालिकामा एक जना मात्रै वडा अध्यक्षमा निर्वाचित छन् भने कालिका नगरपालिकामा ५ जना वडा सदस्यमा निर्वाचित छन् ।
सो बधाई तथा सम्मान कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य महतोले थारूको पहिचान नै इमान्दारिता र मेहेनत भएकोले यी चिजलाई कहिल्यै भुल्न नहुने बताए। निर्वाचनका बेला विभिन्न दलबाट प्रतिनिधित्व गरेर उमेदवार बने पनि जनताबाट निर्वाचित भइसकेपछि विपक्षी दलको समेत प्रतिनिधि भएकोले सबै दललाई समेटेर काम गर्नुपर्ने सुझाव दिएका हुन् । ‘जनताले चुनेर पठाएपछि हामी शासक होइनौँ, सेवक हौँ भन्ने कुरा कहिल्यै भुल्नु हुँदैन,’ उनले भने । यसपटकको स्थानीय तह निर्वाचनमा जनताले दलभन्दा पनि व्यक्ति हेरेर नेता चुनेकोले राम्रा व्यक्ति निर्वाचित भएको उनले बताए ।

थारू पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष सन्तकुमार चौधरीले थारू समुदाय काम गर्न सक्षम भए पनि आफूले गरेकै कामको विषयमा पनि जानकारी गराउन नसक्ने हुँदा सक्षम र दक्ष भएर पनि आफू पछि परेको बताए । त्यसैले थारू समुदायका जनप्रतिनिधिहरूले थारू जातिलाई बोल्न सिकाउने व्यवस्था मिलाउन उनले आग्रह गरे । ‘कम्तिमा थारू जनप्रतिनिधिहरूले आफ्नो समुदायको बाहुल्यता भएका पालिका र वडाहरूमा बोल्ने कलाको लागि नीति नै बनाएर बजेट विनियोजन गर्नु आवश्यक छ,’ उनले भने, ‘जसबाट थारू समुदायमा आवश्यक तालिम सञ्चालन गर्न सकियोस ।’
थारू कल्याणकारिणी सभा (थाकस) चितवनका सभापति ललितकुमार चौधरीले पनि थारूको भाषा, कला र संस्कृति संरक्षणको लागि पालिका र वडाले नीति नै बनाएर कार्यक्रम ल्याउन सुझाव दिए । नत्र अन्य आदिवासी जनजातिको जस्तै भाषा लोप हुने खतरा बढ्दै गएको उनको भनाइ छ ।

माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजीमहतोले थारू समुदायबाट प्रतिनिधित्व गर्दै जनताको सेवक बनेर काम गर्ने ठाउँमा आइपुगेको हुँदा आफ्नो समुदायलाई भुल्न नहुने बताइन् । ‘निर्वाचनका बेला विभिन्न दलबाट आए पनि हामी थारू जातिबाट प्रतिनिधित्व गर्दै यहाँसम्म आइपुगेका हौँ, त्यसैले हाम्रो मूल घर भनेकै थारू हो,’ उनले भनिन्, ‘तर, अन्य जातिलाई पछि पार्नुपर्छ भन्न खोजेको पनि होइन । हामी जनताको प्रतिनिधि भएकोले जनताको चाहनाअनुसारको काम गर्नुपर्छ ।’
हरेक जनप्रतिनिधिमा काम गर्नको लागि क्षमता, योग्यता र इच्छाशक्ति चाहिने उनको भनाइ छ । निर्वाचनका बेला विभिन्न दलहरूले खुट्टा तान्ने प्रयास गरे पनि जनताको चाहनालाई कसैले बदल्न नसक्ने हुँदा आफू दोस्रो पटक जनप्रतिनिधि बन्न पाएको बताइन् ।
कार्यक्रमको समापन गर्दै थारु पत्रकार संघका अध्यक्ष दीपेन्द्र चौधरी (दीपेश)ले जनप्रतिनिधिलाई उर्जा भर्नका लागि सम्मानको कार्यक्रम गरिएको बताए । उनले यस कार्यक्रमकाबाट पत्रकार र थारू समुदायको जनप्रतिनिधिबीच आपसी चिनापर्ची गर्न पनि सहज भएको भन्दै जनप्रतिनिधिहरुलाई सफल बनाउन हरतवरले सहयोग गरिने बताए ।

























