Breaking News
रुपन्देहीको रोहिणी नदीमा बस खस्यो, ९ जनाको मृत्यु,२३ घाइते

रूपन्देही,जेठ २२-
रुपन्देहीको भैरहवा-परासी सडकखण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३२ जना यात्रुमध्ये ९ जनाको मृत्यु भएको हो । पाँचजनाको भैरहवास्थित मेडिकल कलेज र चार जनाको भिम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो । अन्य घाइतेहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । उनले प्रहरीले बसलाई निकालेको र घाइतेको उद्धार गरी अस्पताल पुर्याउने काम भएको बताए । भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी पुलबाट यस अघिपनि पटक–पटक गाडीहरु खोलामा खस्ने गरेका छन् । बिहानको समयमा चालक निदाएको हुनसक्ने कारणले बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।



























