चितवन विशेष
चितवनको रत्ननगर अस्पतालमा आईतबार पनि ओपिडि सेवा नियमित संचालन हुने

चितवन,जेठ २०-
पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले आईतबार पनि नियमित ओपिडि सेवा संचालन गर्ने भएको छ । लगातार दुई दिन विदा हुँदा बिरामीको चाप बढेको र सेवा लिन कठिन भएकाले आईतबार पनि ओपिडि सेवा नियमित गरिएको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेले सातामा दुई दिन विदा हुँदा मंगलबार एकै दिन बिरामीको चाप बढेकाले आईतबार पनि नियमित ओपिडि संचालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बिरामीको चाप दिनदिनै बढ्दो छ, सेवा अवधि घटाउँदा झन् धेरै चाप पर्यो ।”
अस्पतालले आज एक सूचना प्रकाशित गरी आईतबारको दिन समेत पूर्ववत् रुपमा ओपिडी सेवा संचालन गरिने जनाएको छ । यही जेठ २२ गतेबाट यो नियम लागू हुने जनाईएको छ । सूचनामा अस्पतालको आज शुक्रबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको उल्लेख छ ।
सरकारले वैशाख २६ गतेको राजपत्रमा सूचना प्रकाशित गरी जेठ १ गतेदेखि आईतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

























