Breaking News

बलात्कार मुद्दामा हदम्याद हटाउन कानुन संशोधनको तयारी अन्तिम चरणमाः मन्त्री शर्मा

Banner

चितवन, जेठ २०–

कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले बलात्कार सम्बन्धी मुद्दामा हदम्याद हटाउने गरि कानुन संशोधनको तयारी अन्तिम चरणमा रहेको बताएका छन् ।

आज (शुक्रबार) बिहान चितवनको भरतपुरस्थित विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै मन्त्री शर्माले कानुन आयोगले हदम्याद संशोधन सम्बन्धी प्रतिवेदन बनाउने काम अन्तिम चरणमा पुगेको भन्दै प्रतिवेदन प्राप्त हुनासाथ छलफल गरेर संसदमा लगिने जानकारी दिए । ‘आयोगले प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुर्‍याएको छ, प्रतिवेदनलाई स्टेक होल्डरमाझ राखेर छलफल गछौं’ मन्त्री शर्माले भने ‘हदम्यादमा के परिवर्तन गर्ने, कसरी गर्ने भन्ने निश्कर्ष आउँछ र कानुनलाई संसदमा लैजान्छौं ।’ प्रतिनिधिसभामा बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै संकल्प प्रस्ताव समेत दर्ता भइसकेको छ ।

मन्त्री शर्माले अपराधलाई सम्बोधन गर्ने काम दायित्व सरकारको भए पनि कतिपय अपराधका घटनालाई हदम्यादकै कारणले सम्बोधन गर्न नसकिएको बताए । हदम्याद संशोधन भएमा हरेक अपराधिक घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिने बताए । मन्त्री शर्माले संसदमा अलपत्र परेका ५३ वटा विधेयकहरु २ वर्षदेखि कानुन बन्न नसकेको भन्दै छिट्टै विधेयक पास गर्ने तयारीमा सरकार रहेको बताए ।

मन्त्री शर्माले भने–‘अहिले बजेट अधिवेशन भए पनि यसलाई विधेयक अधिवेशन जस्तै गराउँदैछौं, यही अधिवेशनबाट विधेयकहरु प्राथमिकताका साथ पास गर्ने योजना छ ।’ उनले पहिलो प्राथमिकता नागरिक सम्बन्धि विधेयक रहेको बताए । यस्तै संघीय निजामति सेवा सम्बन्धी विधेयक तर्जुमा भइराखेको भन्दै त्यस विधेयकलाई पनि संसदमा ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले हाल संसदमा रहेका ५३ वटा विधेयकलाई सर्वसम्मत पास गराउने र बाँकी ल्याउनुपर्ने विधेयकलाई संविधानसम्मत ढंगले छलफल गरेर अघि बढाउने तयारीमा सरकार रहेको जनाए ।

यस्तै कानुन मन्त्री शर्माले द्धन्द्धकालका मुद्दालाई टुंगोमा पु¥याउन सरकार लागि परेको बताए । उनले विराटनगरबाट परामर्श गोष्ठी सुरु भइसकेको भन्दै चितवनमा पनि द्धन्द्धकालका पीडितहरुसंग छलफल गर्ने कार्यक्रम भइरहेको जानकारी दिए । ‘हामीले पीडितहरुसंग सोधिराखेका छौं, कस्तो आयोग बनाउने, आयोगमा के सुधार गर्ने कस्तो कानुन निर्माण गर्ने, कानुनमा के कमजोरीहरु छन्, कानुनमा भएका कमजोरी र संस्थामा भएका कमजोरीहरुलाई सुधार गरेर संक्रमणकालिन न्यायलाई टुंगोमा पुर्‍याउन हामी लागि परेका छौं ।’–मन्त्री शर्माले भने ।

उनले द्धन्द्धकालिन मुद्दाहरुलाई टुंगोमा पुर्‍याउन सरकारले नीति तथा कार्यक्रमसंगै बजेटबाटै सम्बोधन गरि सकेको भन्दै निश्पक्ष र स्वतन्त्र ढंगले छानविन भएर सम्बोधन हुने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>