Breaking News
एमालेजस्तै कांग्रेसलाई ठेगान लगाउने अवस्था नआओस्ः प्रचण्ड

काठमाडौं,जेठ १८-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा पहिलो दल बनेसँगै नेपाली कांग्रेसमा दम्भ र अहंकार चुलिएको आरोप लगाएका छन्। बुधबार कमलपोखरीस्थित पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले विगतमा अहंकारकै कारण एमालेलाई ठेगान लगाएको भन्दै कांग्रेसलाई ठेगान लगाउने अवस्था नआओस् भनेर सचेत गराए।
‘देशभरबाट कांग्रेसमा पनि एमालेजस्तै दम्भ र अहंकार चुलिएको रिपोर्ट आइरहेको छ,’ उनले भने, ‘वाम गठबन्धन र एकता गरेको एमालेलाई अहंकारकै कारण ठेगान लगायौं। अहिले एमाले चैनमा छैन। एमालेजस्तै कांग्रेसलाई ठेगान लगाउने अवस्था नआओस् म कांग्रेसका साथीहरुलाई भन्न चाहन्छु।’ निर्वाचनमा गठबन्धनमा भरपर्दा माओवादीलाई सोचेजस्तो नतिजा नआएको उनको भनाइ थियो।
आफूहरुले संविधान, लोकतन्त्र र राष्ट्रिय रक्षाका लागि गठबन्धन कायमै राखेर अघि जान खोजेको भन्दै प्रचण्डले कांग्रेसबाट अहंकार र दम्भ आयो भने त्यसविरुद्ध पनि प्रतिकार गर्ने चेतावनी दिए। मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा आफू र नारायणकाजी श्रेष्ठले कांग्रेसमा अहंकार नआओस् भनेर कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएको प्रचण्डले दाबी गरे।


























