Breaking News

निर्वाचनको बेला गरिएको प्रतिवद्धता नै हाम्रो आगामी पाँच वर्षको रोडम्याप होः रेनु दाहाल

Banner

चितवन, जेठ १२–

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले निर्वाचनका दौरानमा गरिएको प्रतिवद्धता नै आगामी पाँच वर्षको रोडम्याप भएको बताएकी छन् । आज (बिहीबार) दिउँसो भरतपुरबासी मतदातालाई धन्यवाद व्यक्त गर्दै प्रमुख दाहालले यस्तो बताएकी हुन् ।

भरतपुरको विकास, भरतपुरवासीको अवस्था बदल्ने संकल्पबाहेक आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको भन्दै भरतपुरका विकासका लागि प्रतिवद्धता भएर लाग्ने बताइन् । प्रमुख दाहालले भनिन्–‘निर्वाचनका दौरानमा हामीले जुन प्रतिवद्धता व्यक्त गरेका छौं, आगामी पाँच वर्षको हाम्रो रोडम्याप त्यही हुनेछ । प्राथमिकताका अधुरा योजना सम्पन्न गर्ने , पूर्वाधार विकास, मानवीय विकास, रोजगारी र स्वरोजगार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, बिपन्न नगरवासीको जीवनस्तर वृद्धि लगायत जे–जति क्षेत्रमा हामीले प्रतीज्ञा गरेका छौं, दोस्रो कार्यकाल यिनै संकल्पहरू पूरा गर्न समर्पित गर्नेछु ।’

प्रमुख दाहालले स्मार्ट भरतपुरको सपना पूरा गर्ने साझा संकल्पमा हातेमालो गर्न सबैमा अपील गरेका छन् ।

प्रमुख दाहालले मतदातालाई दिएको धन्यवाद यस्तो छः

हार्दिक आभार तथा धन्यवाद !
आदरणीय भरतपुरवासी महानुभावहरू,
स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो अमूल्य मत प्रदान गरी भरतपुरको विकास र जनसेवाका लागि दोस्रोपटक निर्वाचित गराउनुभएकोमा समस्त भरतपुरवासी सम्पुर्ण जनसमुदाय प्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछु।
निर्वाचनमा रातदिन, भोकप्यास नभनी अहोरात्र खट्नुहुने सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक र गठबन्धन दलका समस्त नेता–कार्यकर्ताप्रति विशेष आभार प्रकट गर्दछु।निर्वाचनलाई सफल पार्न निर्णायक भूमिका खेल्नुहुने गठबन्धनमा आवद्ध सहयात्री राजनीतिक दल एवं राजनीतिकर्मी साथीहरू, नेपाल सरकार, निर्वाचन आयोग, प्रशासन मानवअधिकारसम्वद्ध संघसंस्थाहरू, निजामती एवं सरकारी सेवाका कर्मचारीहरू, सामाजिक क्षेत्रका महानुभावहरू, निजी क्षेत्र, उद्योगी–व्यवसायीहरू, पेशाकर्मी, कलाकर्मीहरू, बुद्धिजीवी, समाजसेवीहरू, सञ्चारकर्मी मित्रहरू एवं आदरणीय जनसमुदायप्रति कृतज्ञ छु । निर्वाचनको दौरानमा हरतरहले हामीलाई साथ दिनुहुने, शुभेच्छा राख्नुहुने एवं खबरदारी गर्नुहुने समस्त महानुभावका सुझाव र दिशानिर्देशलाई गहिरो गरी आत्मसात गर्ने प्रतीज्ञा गर्दै प्रतिस्पर्धी राजनीतिक दलहरू संगपनि सहमति र सहकार्यका आधारमा अगाडि बढ्ने प्रण गर्दछु ।
निर्वाचन लोकतन्त्रको मेरूदण्ड हो, संघीय गणतन्त्रको सौन्दर्य हो । तसर्थ, हामीले निर्वाचनलाई स्वच्छ एवं लोकतान्त्रिक प्रतिस्पर्धाका रूपमा लिएका छौं ।निर्वाचनमा प्राप्त शिक्षाहरूबाट सिक्दै लोकतन्त्रलाई थप सुदृढ गर्न, संविधान र अग्रगमनको बाटो पछ्याउन हामी निरन्तर सक्रिय रहनेछौं । यस सन्दर्भमा जीतहारको मनोविज्ञानबाट माथि उठेर समस्त भरतपुरबासीको साझा जनप्रतिनिधि बन्ने संकल्पमा दृढतापूर्वक उभिने अठोट गर्दछु ।
निर्वाचनका दौरानमा हामीले जुन प्रतिवद्धता व्यक्त गरेका छौं, आगामी पाँच वर्षको हाम्रो रोडम्याप त्यही हुनेछ । प्राथमिकताका अधुरा योजना सम्पन्न गर्ने , पूर्वाधार विकास, मानवीय विकास, रोजगारी र स्वरोजगार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, बिपन्न नगरवासीको जीवनस्तर वृद्धि लगायत जे–जति क्षेत्रमा हामीले प्रतीज्ञा गरेका छौं, दोस्रो कार्यकाल यिनै संकल्पहरू पूरा गर्न समर्पित गर्नेछु ।
फेरि पनि भन्छु – भरतपुरको विकास, भरतपुरवासीको अवस्था बदल्ने संकल्पबाहेक मेरो कुनै व्यक्तिगत स्वार्थ छैन र रहनेछैन । अन्त्यमा, स्मार्ट भरतपुरको सपना पूरा गर्ने हाम्रो साझा संकल्पमा हातेमालो गर्न सबैमा अपील गर्दै निर्वाचन सम्पन्न गर्न भूमिका खेल्नुहुने सबैप्रति हृदयदेखि नमन गर्दछु । साथै स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित हुनुहुने नगर उपप्रमुखज्यू, वडा अध्यक्षज्यूहरू, वडा सदस्यज्यूहरू र देशैभरिबाट निर्वाचित समस्त जनप्रतिनिधिहरूमा हार्दिक बधाइ एवं कार्यसफलताको शुभेच्छा व्यक्त गर्दछु।
रेनु दाहाल,
प्रमुख–भरतपुर महानगरपालिका

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>