Breaking News

यस्ता छन् भरतपुर महानगरको मेयरमा विजय सुवेदी पराजयका पाँच कारणहरु

Banner

चितवन, जेठ ११-

भरतपुर महानगरपालिकामा मेयरमा १२ हजार बढी मतान्तरले एमालेका विजय सुवेदी पराजित भएसँगै यसका विभिन्न कारणहरुबारे चर्चा र परिचर्चाहरु सुरु भएका छन् । सुरुमा राप्रपाको मत एमालेमा जोडेर निर्वाचन जित्ने विश्वास लिएको एमालेले यति धेरै मतको फरक आउँला भन्ने अपेक्षा गरेको थिएन भने माओवादी केन्द्रलाई पनि १२ हजार बढीकै मतान्तरमा विजयी भइएला भन्ने अनुमान थिएन । भरतपुरको यसपल्टको मत परिणाम सबै दलको अपेक्षा भन्दा बाहिरकै विषय भयो । मतदाताको सोचमा ठूलो उथलपुथल देखियो । सडकका कार्यक्रमहरुमा निकै राम्रो जनलहर देखिएको एमाले किन पराजित हुन पुग्यो त भन्ने बारेमा गत स्थानीय निर्वाचनदेखि अहिलेसम्म भरतपुरको स्थानीय निर्वाचनलाई सुक्ष्म अध्ययन गरिरहेका शिक्षाविद्ध रमाकान्त सापकोटा र प्राध्यापक विनोदखण्ड तिमिल्सिनासँग नारायणी अनलाइनले छलफल गरी केही निष्कर्ष निकालेको छ । मेयरमा विजय सुवेदी पराजयका पाँच कारणहरु यसप्रकार रहेका छन्:

१) एमालेभित्रको अन्तरघात:

भरतपुर महानगरपालिकाका हरेक वडाहरुमा मेयरको लागि कांग्रेस र माओवादीले सोचेअनुसारको मत प्राप्त गरे । भरतपुरको बजारी क्षेत्रमा एमालेको जनमत राम्रो रहेको र ग्रामीण क्षेत्रमा कांग्रेसको जनमत राम्रो रहेको भन्ने जुन आकलन थियो तर शहरी क्षेत्रका वडाहरुबाट नै सुवेदीलाई राम्रो मत आएन । सबैभन्दा धेरै मतदाता रहेको र एमालेको प्रभाव क्षेत्र मानिएको भरतपुरको वडा नम्बर ११ मा नै वडा अध्यक्षको जति मत मेयर सुवदीले प्राप्त गर्न सकेननन् । ६ वटा सूर्यलाई मत दिएका मतदाताले एउटा मत मेयरमा रेनु दाहाललाई दिएको देखियो । यसलाई एमाले कार्यकर्ताहरुले अन्तरघात भने पनि माओवादीहरुले भने मेयरमा दाहालको लोकप्रियता भनेर अर्थ लगाए । जे होस् एमालेका मतदाताहरुको मत दाहाललाई नै बढी गएको देखिन्छ । जुन सुवेदी हारको कारण बन्न पुग्यो । भरतपुरको कुनै पनि वडामा एमालेको वडा अध्यक्षले ल्याएको जति मत मेयरका उम्मेदवार सुवेदीलाई प्राप्त भएन । एमाले कार्यकर्ताहरुमा राम्रो प्रशिक्षण र पार्टीप्रतिको बलियो प्रतिबद्धता रहेको पाइएन । सबै दल र पार्टी उस्तै हुन् भन्ने मनोविज्ञान कतिपय मतदातामा देखियो ।

२) भरतपुर महानगरलाई एमालेले भन्दा गठबन्धनले दियो बढी प्राथमिकता

सुरु देखिनै भरतपुर महानगरको निर्वाचनमा एमालेले भन्दा गठबन्धनका दलहरु कांग्रेस र माओवादीले धेरै प्राथमिकता दिएका थिए । भरतपुरमा मेयरको उम्मेदवारी घोषणा भएसँगै प्रधानमन्त्री, बहालवाला सरकारी मन्त्रीदेखि शीर्ष नेताहरुको दौडधुप भरतपुरमा चलिरह्यो । गठबन्धनप्रति असन्तुष्ट कांग्रेसबाट जगन्नाथ पौडेलको उम्मेदवारी परेसँगै गठबन्धनका उम्मेदवारहरुले मेयरमा रेनुलाई जिताउन धेरै मेहनत गरे । भरतपुरमा धेरै मेहनत गरेकै कारणले कांग्रेसले आफ्नो बर्चश्व रहेको इच्छाकामना गाउँपालिका र माओवादीले माडी नगरपालिका गुमायो । त्यतातिर उनीहरुको ध्यान कमै गयो । कांग्रेसभित्रको असन्तुष्टिले सजिलै निर्वाचन जितिन्छ भन्ने एमालेको भ्रम गलत साबित भयो ।

३) भूइँकटरबाट घाटा

भरतपुर महानगरमा मेयरमा कांग्रेसको स्वतन्त्र उम्मेदवारी पर्दा जसरी गठबन्धनको मत काटिन्छ भन्ने एमालेको अनुमान थियो । निर्वाचनको मत परिणामले त्यसलाई गलत साबित गरिदियो । भुइँकटरमा एमाले र गठबन्धनको दुवैतिरको मत गयो । यदि जगन्नाथको उम्मेदवारी नपरेको भएमा भने असन्तुष्ट मत विजय सुवेदीलाई जाने सम्भावना मत परिणामले देखायो । अघिल्लोपटक देवी ज्ञवालीले सोही मत पाएकै कारणले उनको राम्रो मत आएको थियो । मौन अवधिमा असन्तुष्टि राख्ने कांग्रेस कार्यकर्ताहरुको मत अन्यत्र नजाओस् भनेर गठबन्धनले धेरैनै मेहनत गरेको पाइयो । पार्टीभित्रको मत जोगाउने तर्फ एमालेको ध्यान जान सकेन । कांग्रेस भरतपुरमा यसै नै बलियो शक्ति भएकोले उसँग माओवादी मिल्दा गणितीय हिसाबमा पनि गठबन्धन बलियो नै थियो । मत रहेको बाकसमा पनि खासै मत दायाबाया भएको पाइएन । हसिया हतौडामा बिनाहिचकिचावट कांग्रेसले राम्रोसँग मत दिए ।

३) राप्रपासँग तालमेल

अघिल्लो निर्वाचनमा राप्रपाको भरतपुर महानगरमा सात हजार मत आएको थियो तर यसपटक राप्रपाको मत अपेक्षितरुपमा सुवेदीलाई आउन सकेन । राप्रपाको उपमेयरकी उम्मेदवार हिमला गुरुङले पनि राम्रो मत ल्याउन सकिनन् । एकातिर गठबन्धनको विरोध गर्ने एमालेले राप्रपासँग गरेको तालमेलले सही परिणाम निस्कन सकेन । यसलाई कतिपयले रुचाएनन् । उपमेयरको उम्मेदवार महानगरमा धेरै लोकप्रिय नभएकोले पनि गठबन्धनले खासै प्रभाव पार्न सकेन ।

४) सुकुमबासीहरुलाई लालपुर्जा र निस्सा

पछिल्लो समय भरतपुरमा भूमि आयोगको सक्रियताले गठबन्धनलाई धैरै मत जान सहयोगी भूमिका खेल्यो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयं उपस्थित भएर भरतपुरमा निर्वाचन भन्दा केही अगाडि लालपुर्जा वितरण गरेका थिए । चुनावी प्रचारप्रसारकै क्रममा पनि धेरै भन्दा धेरै सुकुमबासीहरुलाई निस्सा बाड्ने काममा भूमि आयोगका अध्यक्ष बद्री तिमिल्सिनाको सक्रियता बढ्यो । यसकारणले पनि सुकुमबासी क्षेत्रको मत धेरै रेनुलाई आएको देखिन्छ । सुवेदीलाई अपेक्षित मत आउन सकेन ।

५) चुनावी एजेण्डा र प्रचार शैली

एमालेका विजय सुवेदी आफैँमा पनि बौद्ध दर्शनको ज्ञाता र मितव्ययी नेता भएकोले सत्ता गठबन्धनको तुलनामा उनले प्रचारप्रसारमा यथेष्ट खर्च गरेनन् । माओवादीले जसरी रेनु दाहाललको प्रचारप्रसारमा चुनावी म्युजिक भिडियो नै बनाएर आक्रामक शैली अपनायो त्यो शैली उनले अपनाएनन् । रेनुको हाइटेक प्रचारप्रसार शैलीले सामाजिक माध्यममा सक्रिय अहिलेका नयाँ युवा मतदाताको ध्यान तान्न सफल भयो । अर्काेतिर पश्चिम चितवनमा निर्माणभएका फराकिला पिच सडक, विद्यालयमा बाँडिएको साइकल र बसले गर्दा पनि रेनुको लोकप्रियता सुवेदीको भन्दा बढी भयो । मानिसहरुमा सडक निर्माण नै विकास हो भन्ने मान्यताको विकास भयो । एमाले उम्मेदवार सुवेदीको निर्वाचन क्षेत्र मानिएको भरतपुर ११ र १२ मा विभिन्न लोकप्रिय कार्यक्रमहरु उनले सञ्चालन गरे पनि अपेक्षित मत आउन सकेन ।

अर्काेतर्फ भरतपुरको बजारी क्षेत्रका मतदाताहरुले भरतपुर विमानस्थललाई मेघौली सार्ने स्ुवेदीको एजेण्डालाई त्यती मन पराएनन् । विस्तारको योजनामा रहेको विमानस्थल निकुञ्जको छेउमा सार्ने विषयले बजारी क्षेत्रको धेरै मतदाताको ध्यान आकर्षित गर्न सकेन । भरतपुर ११ बाट सुवेदीलाई किन अपेक्षित मत आउन सकेन ? भन्ने प्रश्न अहिलेसम्म पनि सबैको लागि अनुत्तरित नै रहेको छ । गणेशधाम देखि पुंगी खोलाका नयाँ योजनाहरु त्यस क्षेत्रमा उनकै सक्रियतामा सञ्चालन भइरहेका छन् । सत्ता गठबन्धनबाट अर्थिक चलखेल भएको भन्ने आरोप एमालेका कतिपय नेताहरुले लगाउने भए पनि त्यसविषयमा कुनै तथ्य र प्रमाण भने भेट्न सकिएको छैन । भरतपुरको अहिलेको स्थानीय निर्वाचनले एमालेलाई निकै राम्रो पाठ सिकाएको छ । जसले आगामी दिनमा उसलाई आफ्ना कमी, कमजोरीहरु सुधारेर अगाडि बढ्ने अवसर दिएको छ । गणितीयरुपमा मुख्य पदमा विजयी नभए पनि हरेक वडाहरुमा मुख्य प्रतिस्पर्धी भने एमाले नै रहेकोले भरतपुरमा उसको जनमतलाई कम आकलन गर्न भने मिल्दैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>