Breaking News
पोखराको मेयरमा धनराज र उपमेयरमा मञ्जु निर्वाचित

पोखरा, जेठ ११–
पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकिकृत समाजवादी) कास्कीका अध्यक्ष धनराज आचार्य ६ हजार ४५ मतान्तरले निर्वाचित भएका छन्। नेकपा (एमाले)का मेयर उम्मेदवार कृष्ण थापालाई हराउँदै धनराजले मेयर जितेका हुन् ।
५८ हजार ८९३ मत पाएर धनराज पोखराको १५ औं मेयरमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको हो। धनराजका प्रतिष्पर्धी एमालेका उम्मेदवार कृष्ण थापाले ५२ हजार ८४८ मत पाएका थिए।
पोखरा महानगरमा २ लाख ७ हजार मतदता रहेकोमा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।
धनराजलाई सत्तारूढ पाँच दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजावदी, जनता समाजवादी र जनमोर्चाको समर्थन रहेको थियो।
सत्ता गठबन्धनबाट मेयर जिते पनि उपमेयरमा भने लोकप्रिय मतका साथ एमाले उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी भएकी छिन्।
पोखराका निवर्तमान उपमेयर रहेकी मञ्जुले सबैभन्दा धेरै ६० हजार ५४६ मत पाएर विजयी भएकी हुन्। उनका प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ५६ हजार ६६३ मत पाइन् ।


























