Breaking News

भरतपुरमा ४१ घण्टादेखि विद्युत् अवरुद्ध,पूर्ण रुपमा संचालनमा आउन पाँच दिन लाग्ने

Banner

चितवन,जेठ ७-

शुक्रबार साँझ आएको हावाहुरीले रूख र बिजुलीका पोल ढालेपछि अवरूद्ध भएको भरतपुरको विद्युत सेवा आइतबार मध्यान्हसम्म पनि सञ्चालनमा आउन सकेको छैन । विद्युत् प्राधिकरणको भरतपुरका प्रमुख राजिवकुमार सिंहका अनुसार भरतपुर सबस्टेसनबाट वितरण भएको बिजुली सेवा अवरूद्ध छ । भरतपुरमा हावाहुरीले झण्डै १ सय पोल ढलेका छन् भने ठाँउठाँउमा तार चुडिएका छन् । ढलेका पोल र तार मर्मताका लागि प्राधिकरणले ६ टोली परिचालन गरेको सिंहले बताउनुभयो । उहाँले अस्पताल र सुरक्षा निकायलाई पहिलो प्राथमिकतामा राखेर विद्युत सूचारु गरिएको बताउनुभयो । उहाँले आंशिक रुपमा विद्युत सूचारु भएपनि पूर्ण रुपमा संचालनमा आउन अझै पाँच दिन लाग्ने जानकारी दिनुभयो ।

चनौली सबस्टेसनबाट वितरण हुने बिजुलीमा भने समस्या छैन । भरतपुर पश्चिममा बिजुली छ तर सदरमुकाम भरतपुर क्षेत्र, नारायणगढ बजार क्षेत्र र पूर्वी चितवनको रत्ननगर खैरहनीसम्म बिजुली छैन । शनिबार साँझबाट बिजुली सेवा सुरू गर्ने उद्देश्यले दिनभर काम भएको थियो । तर विद्युत सेवा सञ्चालनमा आउन सकेको छैन । शनिबार राति अवेरसम्म संवेदनशील क्षेत्रमा आपूर्ति सुरू गर्ने योजनाका साथ काम जारी राखेको प्राधिकरणले जनाएको छ ।

बिजुली लामो समय नहुँदा मोबाइल फोन सेवासमेत प्रभावित भएको छ । शुक्रबारको हावाहुरीका कारण तीनजनाको ज्यानसमेत गएको छ । कम्तीमा १० जना घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>