Breaking News
चितवनका नवनिर्वाचित चार स्थानीय तहका प्रमुखहरुले लिए सपथ

चितवन, जेठ ६–
स्थानीय तह निर्वाचन–२०७९ अन्तरगत निर्वाचित चितवनका चार पालिका प्रमुखहरुले सपथ ग्रहण गरेका छन् ।
आज (शुक्रबार) जिल्ला समन्वय समितिको सभाहल भरतपुरमा जिल्ला न्यायाधिश प्रकाश कुमार अधिकारीले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् ।
नेकपा (एमाले)बाट निर्वाचित माडी नगरपालिकाकी प्रमुख तारा कुमारी काजी महतो, एमालेबाटै निर्वाचित कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी, नेपाली कांग्रेसबाट निर्वाचित खैरहनी नगरपालिकाका प्रमुख शशी कुमार खनियाँ र एमालेबाट निर्वाचित इच्छाकामना गाउँपालिकाका प्रमुख दानबहादुर गुरुङले सपथ ग्रहण गरेका हुन् । उनीहरुले देश र जनताको हितमा काम गर्ने सपथ लिएका हुन् ।
माडीकी प्रमुख महतोले गठबन्धनबाट निर्वाचन लडेका माओवादी केन्द्रका ऋषि काफ्लेलाई पराजित गरेकी थिइन् । महतो ९ हजार ९०१ मत प्राप्त गर्दै निर्वाचित भएकी थिइन् भने काफ्लेले ७ हजार ७२९ मत प्राप्त गरेका थिए । उपप्रमुखमा नेपाली कांग्रेसका खेम महतो निर्वाचित भएका थिए । उनले ६ हजार ८३० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्धन्द्धी राप्रपाका मदन पौडेलले ५ हजार १४० मत प्राप्त गरेका थिए । प्रमुख महतोले माडीका उपप्रमुख र वडा अध्यक्षहरुलाई आजै सपथ ग्रहण गराउँदै पदभार ग्रहण गरिने जानकारी दिइन् ।

यस्तै खैरहनीका नगर प्रमुख खनियाँले १० हजार ४१७ मत प्राप्त गर्दै निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्धन्द्धी नेकपा(एमाले)का लालमणि चौधरीले ९ हजार ७६१ मत प्राप्त गरेका थिए ।
यस्तै कालिका नगरपालिकाका प्रमुखमा रेग्मीले १० हजार ७४१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका शिवराम केसीले १० हजार ५७१ मत प्राप्त गरेका थिए ।
त्यस्तै चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाका प्रमुख दानबहादुर गुरुङ ५ हजार ७१० मतका साथ विजयी भएका थिए भने उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी गीता कुमार गुरुङले ४ हजार २ सय मत प्राप्त गरेकी थिइन् ।
निर्वाचित पालिका प्रमुखहरुलाई निर्वाचन अधिकृतले विजेताको प्रमाण पत्र समेत प्रदान गरेका थिए । सपथ लिएका प्रमुखहरुले आजै पालिका उपप्रमुख र वडा अध्यक्षहरुलाई सपथ ग्रहण गराउँदै पदभार ग्रहण गर्ने तयारीमा छन् । चितवनका सात स्थानीय तह मध्ये भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र राप्ती नगरपालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।


























