Breaking News

भरतपुरको मतगणनास्थलमा मतपत्र च्यात्न नमिल्नेगरी फलामको बारसहित जाली

Banner

चितवन,बैशाख २९-

स्थानीय तहको निर्वाचनका कारण यतिबेला देशकै ध्यान भरतपुर महानगरपालिकामा परेको छ । भरतपुरलाई दलहरुले प्रतिष्ठाको विषय नै बनाएका छन् । २०७४ मा मतगणनाका क्रममा मतपत्र च्यातिएको विषय अझै पनि चर्चामा छ ।

निर्वाचन आयोगले यसपटक भने मतपत्रको सुरक्षामा विशेष प्राथमिकता दिएको छ । शुक्रवारको मतदानपछि सबैको ध्यान मतगणनामा केन्द्रित हुनेछ ।
विगतमा मतगणनास्थलमै भएका भनिएका अनियमितता तथा बेथिति सुधार्न यस पटक गणनास्थलहरूमा विशेष व्यवस्था मिलाइएको निर्वाचन आयोगले बताएको छ ।
आयोगले मतगणना स्थलमा अनिवार्य सिसी क्यामराको व्यवस्था गर्न निर्देशन पनि दिइसकेको छ । यसपालि भरतपुर महानगरपालिकाको मतगणना चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा हुनेछ ।

प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकमा मतगणनाका लागि व्यवस्थापन गर्ने काम धमाधम भइरहेको छ । दलका प्रतिनिधिले मतपत्र च्यात्न नपाऊन् भनेर मतगणना स्थलमा फलामको बार हालिएको छ । दलका प्रतिनिधि बस्ने ठाउँ छुट्टयाएर फलामको बार लगाइएको हो ।

प्रतिनिधिले मतगणना गरेको हेर्न मिल्ने गरी फलामको बारमा जाली पनि हालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरूषोत्तम पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए । मतगणना स्थलमा आठवटा सिसी क्यामरा जडान गरिसकिएको उनले बताए ।

अकस्मात् बिजुली गएको खण्डमा स्वचालित जेनेरेटरको समेत व्यवस्था गरिएको छ । पूर्वसावधानीका सबै उपाय अपनाइएका छन्,” उनले भने । उनले भरतपुरमा यसपटक शान्तिपूर्ण रुपमा निर्वाचन हुने बताए । उनले बाहिर हल्ला आएजस्तो मतपेटिका साटिने सम्भावना पनि नरहेको बताए । २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार मतदाता रहेका छन् । यहाँ मतदानको लागि ६५ मतदानस्थल र २०२ वटा मतदान केन्द्र रहेका छन् ।

विगतको स्थानीय तहको निर्वाचनमा मतगणनाको क्रममा भएको घटना दोहोरिन नदिन तीन तहको सुरक्षाकर्मी परिचालनका साथै पर्याप्त कर्मचारी खटाइने प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए । तामाङले भने, “विगतको घटनाबारे समीक्षा गरेर त्यसैअनुरूप सुरक्षा व्यवस्था पुनरावलोकन गरिएको छ ।”

“त्यतिखेर भएका त्रुटि केलाइएको छ । यिनै विषयका आधारमा निर्वाचन आयोगले निर्दिष्ट गरेका सबै उपाय अवलम्बन गरिएका छन्।” “सुरक्षाका हकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना तीनै निकायका सुरक्षाकर्मी त्यहाँ परिचालन गरिएको छ ।” भरतपुरको मतगणनाको नतिजा जेठ ५ गतेसम्म आउने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>