Breaking News

सबैले सुकुमबासीलाई लालपूर्जाको आशा मात्रै देखाए, म काम गरेर देखाउँछुः शिवराम केसी

Banner

चितवन, वैशाख २७–

स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हुँदैछ । स्थानीय तह निर्वाचनमा चितवनको कालिका नगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका शिवराम केसी उम्मेदवार बनेका छन् ।

लामो राजनीतिक पृष्टभूमि बोकेको परिवारका केसीलाई मेयरको बलियो उम्मेदवारको रुपमा हेरिएको छ । व्यवसायीको रुपमा समेत लामो अनुभव भएका केसी सामाजिक कार्यका लागि पनि उत्तिकै परिचित छन् । उनी कालिकाको मुहार फेर्नका लागि चुनावमा होमिएका हुन् । प्रस्तुत छ तिनै केसीसँग गरिएको कुराकानीको सम्पादित अंशः

१. कालिकाको मेयरमा तपाईको उम्मेदवारी किन ?

–अहिले व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन । जनताले रोजगार पाएको अवस्था छैन । रोजगार सृजना गरेर जनताको अवस्था परिवर्तनका लागि म मेयरको पदको उम्मेदवार बनेको हुँ । कालिकालाई नमूना नगर बनाउन गठबन्धनबाट मेयरका लागि अघि बढेको हुँ । कालिकाको मुहार फेर्ने अभियानमा हामी लाग्छौं ।

२. तपाईको एजेन्डा के–के हुन् ?

–अहिले देशको सबै भन्दा ठूलो मुद्धा भनेको भ्रष्टचार हो । भ्रष्टचारमा शुन्य सहनशिलताको नीति अपनाएर अघि बढ्ने प्रतिवद्धता जनता माझ राखेर हामी अघि बढेका छौं । सिद्धीमा ७५ प्रतिशत भन्दा बढी चेपाङहरुको बसोबास छ । यो ठाउँमा जनतालाई स्वरोजगरा बनाउन कृषि नै सबैभन्दा ठूलो आधार हो । कृषिबाट नै उहाँहरुलाई रोजगार बनाउन सकिन्छ ।

कालिकालाई पर्यटनसँग जोडेर पनि अगाडि बढाउन सकिन्छ । यहाँका भूमिहिन, सुकुमबासीहरुसँग लालपूर्जा छैन । जो पनि आउँछन् आश मात्रै देखाउने गरेका छन् । आशै मरिसक्यो । यो बिषयलाई समाधान गर्न म अघि बढ्छु । सबैले सुकुमबासीलाई लालपूर्जाको आशा मात्रै देखाए, म काम गरेर देखाउछु । मैले प्रधानमन्त्री शेरबहादुर देउवालाई चितवन आउनु भएको मौकामा यो मुद्धा सम्बोधन गर्नुपर्छ भनेको छु । उहाँले लेखेर ल्याउनु म गर्छु भन्नु भएको छ । राज्यमन्त्री उमेश श्रेष्ठसँग पनि यो कुरा राखेको छु । धेरै ठूला एजेन्डाहरु लिएको छैन । तर जनहितमा हुने कामहरु गर्छु ।

३. कालिकामा तपाईले जित्ने आधार के हो ?

–पहिलो कुरा म केही पनि कुरालाई नकारात्मक तरिकाले हेर्दिन । सबै कुरालाई सकारात्मक तरिकाले हेर्छु । यो स्थानीय ठाउँको राजनीति हो । बाउ बाजेले के गरेका छन् भनेर पनि हेर्छन् । यो ठाउँमा बाटो घाटो र पूर्वाधार बिकास र जुटपानीमा बिजुली ल्याउने मेरो काका हुन् । पहिल्यैदेखि विकास निर्माणमा हिँडेको हाम्रो परिवार हो । यहाँका जनताले हामीलाई हेर्ने दृषिकोण फरक छ ।

म राजनीति मात्रै सबै कुरा होइन भनेर समाजमा बस्दा राम्रो काम गर्न, एउटा इट्टा भए पनि थप्न पाए हुन्थ्यो भन्ने मान्छे हुँ । समाजलाई सुन्दर बनाउन पर्छ भनेर सक्रिय भएर लाग्ने मान्छु हुँ म । पर्दा खेरी यसले गर्न सक्छ भन्ने नगरबासीलाई विश्वास छ । यस्ता धेरै आधार छन् र म विजयी हुन्छु भन्ने विश्वास छ ।

४. उम्मेदवारहरु चुनावको बेला हात जोड्दै घर–घर आउँछन् । अरु बेला वास्ता गर्दैनन् भन्ने मतदाताको गुनासो छ । तपाई विजयी भएपछि त्यस्तो समस्या देखिदैन भनेर जनताले कसरी विश्वास गर्ने ?

–हो यही सिस्टम बनाउनका लागि म उम्मेदवार बनेको हुँ । सिस्टम बनाउन पर्‍यो । नगरपालिकामा महिनामा एक चोटी जनताको गुनासो सुन्ने सिस्टमको बिकास गर्छु । यती गते नगरपालिकामा जनताको गुनासो सुन्न मेयर बस्छन् भन्ने सिस्टम बिकास गर्छु । त्यो दिन मेयर आँफै उपस्थित भएर जनताको गुनासो सुन्छन् है भन्ने सिस्टम बिकास हुन्छ ।

सबै जनाको घरमा पुगेर गुनासो सुन्न भ्याईदैन, काम पनि हुँदैन । तर हरेक महिना नगरपालिकामा नै जनताको गुनासो सुनेर कहाँ के गर्न पर्ने हो त्यही अनुसार अघि बढ्छु । जनतासँग जोडिने कुरामा कुनै समस्या छैन । जनताको आवश्यकता अनुसार नै काम गर्ने हो ।

५. मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

–सबैबाट राम्रो प्रतिक्रिया पाइरहेको छु । सबै तपाई गर्ने खाले मान्छे हो, हामी सहयोग गर्छौं भन्नुहुन्छ । हामी बिभिन्न पार्टीमा भए पनि तपाईलाई सहयोग गर्छु भन्नु हुन्छ । वातावरण सकारात्मक नै पाएको छु ।

६. अन्तिममा मतदातालाई के भन्न चाहनुहुन्छ ?

अहिलेको यो स्थानीय तहको निर्वाचन हो । आफ्नो क्षेत्रको उम्मेदवारहरु को कससँग प्रतिस्पर्धा गर्दैछन् भनेर आँफैले मुल्याङ्कन गर्नुहोस् । उम्मेदवारलाई नियालेर हेर्नुहोस्, भविष्यमा आशा जगाउन नसक्ने मान्छेलाई त्यही अनुसार मुल्याङ्कन गर्नुहोस् । म सबै मतदातासम्म पुग्न सकिन होला तर मेरो एजेन्डा भ्रष्टचारमुक्त समाज निर्माण हो । कसैलाई भेदभाव नगरि सेवा दिन्छु । यो अवसर दिनुहुनेछ भन्ने विश्वास छ र आग्रह पनि गर्छु ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>