Breaking News

विजय सुवेदीः जसले मृत्यु पर्यान्त आफ्नो सबै अंग दान गरे, अस्पतालमा गरिब विपन्न राहत कोष बनाए

Banner

चितवन,बैशाख २६-

भरतपुर महानगरमा एमालेका तर्फबाट मेयरका उम्मेदवार बन्नुभएका विजय सुवेदी केही न केही नयाँ काम गर्न रुचाउने भएकोले प्रायः चर्चामा आइरहनुहुन्छ । अहिले भरतपुरमा मेयरको उम्मेदवार बनेसँगै उहाँको चर्चा झनै बढेको छ । उहाँका कामलाई लिएर जनस्तरबाट प्रशंसा गर्ने गरिन्छ ।

सुवेदीले भरतपुरका विभिन्न क्षेत्रमा काम गर्दा समाजमा सकरात्मक सन्देश दिने विभिन्न कामहरु गर्नुभएको छ । सुवेदीले झण्डै चार वर्ष अघि २०७५ चैतमा जन्मोत्सवको अवसर पारी शरीरका सबै अंग मृत्युपर्यन्त दान गर्नुभएको थियो । जन्मदिनमा भरतपुर अस्पताल गएरर आफ्नो ५६ औँ जन्मोत्सवको अवसरमा अंगदानको मन्जुरीनामा गर्नुभएको थियो ।

उहाँले मिर्गौला, मुटु, कलेजो, फोक्सो, प्याङ्क्रियाज, सानो आन्द्रा मृत्युपश्चात् दान गर्नुभएको छ । तत्कालीन प्रदेश सांसद सुवेदीले भरतपुर अस्पतालका मेसु कृष्णप्रसाद पौडेल र अस्पतालका अध्यक्ष खिमलाल भण्डारीलाई अंगदानको मञ्जुरीनामा दिनुभएको थियो । सुवेदीले मृत्युपछि भएका अंग जलाएर खेर फाल्नुभन्दा कसैलाई दान गरेर उसको जीवनलाई सहज बनाउन आफूले दान गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अंगदानबाट अर्कोको जीवन जोगाउन सकिन्छ भने त्यस्तो महान काम किन नगर्ने भनेर आफैँबाट सुरु गरेको हुँ ।’ सांसद सुवेदीले जन्मोत्सवकै अवसरमा विभिन्न क्षेत्रमा पुगेर हरेक वर्ष वृक्षरोपण पनि गर्दै आउनुभएको छ । पछिल्लो समयमा उहाँले नियमित रक्तदान पनि गर्दै आउनुभएको छ ।

मन्त्री हुँदा पाएको पारिश्रमिक ज्येष्ठ नागरिकलाई

मेयरका उम्मेदवार सुवेदीले बागमती प्रदेशको सामाजिक विकास मन्त्री हुँदा आफूले पाएको तलब चितवनका ज्येष्ठ नागरिकलाई सहयोग गर्नुभयो । मन्त्रालयबाट बिदाई हुँदै गर्दा उहाँले ज्येष्ठ नागरिकलाई आफूले प्राप्त गरेको तलबको रकम ज्येष्ठ नागरिक समाज चितवनलाई हस्तान्तरण गर्नुभएको हो ।

उहाँले ज्येष्ठ नागरिक समाज चितवनका अध्यक्ष केदार तिमिल्सिनालाई एक महिनाको तलब ६० हजार २३० रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो । आफ्नो जीवनयापनमा हुने खर्चलाई कम गर्दै सामाजिक क्षेत्रमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले तलब मार्फत प्राप्त रकम सहयोग गरेको उहाँले बताउनुभयो । सांसद सुवेदीले ज्येष्ठ नागरिकलाई सम्झेर सहयोग गरेको भन्दै ज्येष्ठ नागरिक समाज चितवनका अध्यक्ष तिमिल्सिनाले धन्यवाद दिनुभएको थियो ।

सांसद हुँदाको केही पारिश्रमिक आपतकालीन कोषलाई

उम्मेदवार सुवेदीले भरतपुर महानगरपालिका–११ को गणेशधाममा आयोजित कार्यक्रममार्फत् वडा नम्बर २ को मिलन टोल र ११ को सिद्धार्थ टोलमा आपतकालीन कोष स्थापना गरी आर्थिक सहयोग गर्नुभएको छ । हरेक कोषमा सुवेदीले ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।

उहाँले भरतपुर महानगरपालिका–२ को इन्द्रेणी टोल, ११ को दरबारचोक टोल र १२ को नवरत्न टोलमा कोष स्थापना गर्नुभएको थियो । टोलभित्र आइपर्ने विपद् तत्काल सहयोग जुटाउन, गरिब तथा विपन्नलाई उपचारमा सहयोग गर्न कोषको रकम उपयोग गर्ने गरी कोष स्थापना गरिएको सांसद सुवेदीले बताउनुभयो । मानवीय शहरको परिकल्पना स्वरुप यो अभियानको थालनी गरिएको उहाँको भनाइ छ ।

टोलभित्रका सदस्यलाई विपद्मा तत्काल आर्थिक सहयोग जुटाएपछि सो रकम कोषमै फिर्ता गर्नुपर्ने कार्यविधि बनाइएको छ । तर, गरिब तथा विपन्नले भने रकम फिर्ता गर्नुपर्ने छैन । गतवर्षबाट सुरु गरिएको राहत कोषको प्रभावकारिता बढेपछि सुवेदीले यसलाई निरन्तरता दिने बताउनुभएको छ । उहाँले अन्य टोल विकास संस्थामा पनि यस्ता कोषहरु स्थापना गर्ने र गरिब तथा विपन्न नागरिकलाई सहयोग गरिने बताउनुभयो । कोषमा हरेक सदस्यले स्वेच्छाले मासिक १०० रुपैयाँ बचत गरेर कोषको रकम वृद्धि गर्न सक्ने प्रदेश निर्वाचन क्षेत्र नागरिक समन्वय समितिका संयोजक सन्तोष पन्तले जानकारी दिनुभयो ।

भरतपुर अस्पतालमा गरिब विपन्न राहत कोष स्थापना

आज भन्दा छ वर्ष अगाडि विजय सुवेदीकै नेतृत्वमा भरतपुर अस्पतालमा गरिब तथा विपन्न राहत कोष स्थापना भएको थियो । सो कोषमा देश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । स्थापना भए लगत्तै गरिब विपन्न उपचार राहत कोषका लागि आठ लाख रकम हस्तान्तरण गरेको थियो । संकलन गरेको रकम अस्पतालमा आएर सेवा लिने अति गरिब, विपन्न र सीमान्तकृत बिरामीको उपचारका लागि खर्च गर्ने योजना छ ।

हरियाली तथा भरतपुर सफाइका अभियन्ता

मेयरका उम्मेदवार सुवेदीको सक्रियतामा चितवन क्षेत्र नम्बर २ ख अन्तर्गत पर्ने भरतपुर महानगरपालिकाका सात वडामा सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रम लागू भएको छ । तीन वर्षअघि प्रदेश नम्बर ३ का तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले सो कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रमअन्तर्गत स्रोत केन्द्र, शहरी बायो ग्यास प्लान्ट, पानी शुद्धिकरण, वृक्षरोपण र फोहोर व्यवस्थापनको एकसाथ शुभारम्भ गरिएको थियो ।

घरघरमा बिरुवा रोप्ने अभियानको नेतृत्वकर्ता

मानिसहरुको आफ्नो जन्मदिन मनाउने तरिका फरक–फरक हुन्छन् । अधिकांश केक काटेर खानपिन गरेर जन्मदिन मनाउने गरेको भए पनि भरतपुरका मेयरका उम्मेदवार विजय सुवेदीले भने हरेक जन्मदिन वृक्षरोपण गरेर मनाउने गर्नुभएको छ । वृक्षरोपण बाहेक उहाँ हरेक जन्मदिनमा केही न केही सामाजिक सेवाका कार्यक्रममा सक्रिय हुने गर्नुहुन्छ ।

उहाँले आफ्नो जन्मोत्सवको अवसर पारेर रक्तदान, वृक्षरोपण, सरसफाइ अभियान लगायतका सामाजिक कामहरु गर्दै आउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>