Breaking News

चितवनमा एउटै पदमा ज्वाइँ–ससुराको प्रतिस्पर्धा

Banner

कारी महतो

चितवन, वैशाख २५–

निर्वाचनको पूर्व सन्ध्याहरुमा विभिन्न दलहरुका कार्यकर्ताहरु एकआपसमा जुधेर अंगभंग भएको सुनिन्छ । कतै भाषण गर्दा वा अन्तर्वार्ता दिदा एकअर्कालाई गाली गलौज गरेको सुनिन्छ । तर चितवनको खैरहनी नगरपालिका वडा नं. ७ को वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका दुई उम्मेदवारहरु निकै सौहार्दपूर्ण वातावारणमा घरदैलो अभियानमा देखिएका छन् । वडा नं. ७ को मझुई टोलमा जम्काभेट भएका दुवै उम्मेदवारहरु एकसाथ उभिएर मन्दमुस्कानका साथ फोटो पनि खिचाए । ती उम्मेदवारहरु नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका मनेजर महतो र नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका किरण चौधरी हुन् । मनेजर मझुई निवासी र किरण सुर्ताना निवासी हुन् । वहाँहरु नाताले भानिज ज्वाइँ र मामा ससुरो हुन् ।

९० प्रतिशत भन्दा बढी थारु उम्मेदवार भएको त्यस वडामा मनेजर महतो २०७४ सालमा निर्वाचित भई वडा अध्यक्षको रुपमा एक कार्यअवधि सम्पन्न गरीसकेका छन् । “हामी मध्ये जसले जिते पनि वडा नं. ७ को विकासको लागि काम गर्ने हो । तर विगत पाँच वर्षमा मैले गरेको विकास निर्माणको काम देखेर वडावासीले फेरि मलाई नै जिताउने छन् ।” –मनेजरले भने ।

“नाताले वहाँ मेरो भानिज ज्वाइँ हुन् । जसले जिते पनि कुनै फरक छैन । तर वडावासीले वडाअध्यक्षको रुपमा नयाँ अनुहार देख्न चाहेकोले वडावासीको चाहना अनुसार मैले नै जित्छु ।”–किरणले भने ।

प्रमाण पत्र तहसम्म अध्ययन गरेका किरण चौधरीले २८ वर्षसम्म एक आइएनजीओमा सामाजिक अभियन्ताको रुपमा काम गरेको अनुभव बटुलेका छन् । अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीबाट सर्लाहीमा सञ्चालित बालपोषण परियोजनामा उनले २८ वर्ष काम गरेर अवकासपछि विभिन्न सामाजिक संघसंस्थाहरुमा आबद्धरही समाजसेवा गर्दै आएका छन् ।

चुनाव जितेपछि विभिन्न योजना बारे पारदर्शीता कायम गर्ने, अपाङ्ग तथा अशक्त वृद्धवृद्धहरुका लागि सामाजिक सुरक्षाभत्ता घरघरमै पुर्याउने व्यवस्था मिलाउने, निशुल्क स्वास्थ्य र शिक्षाका लागि पहल गर्ने, पर्यटन प्रबद्र्धनका लागि थारु म्युजियम बनाउने, कृषकहरुका लागि सर्वशुलभ मलबीउ उपलब्ध गराउने, भ्रष्टचार नगर्ने र गर्न पनि नदिने, टोलटोलमा गई समाजसँग सरसल्लाह गरी विकास निर्माणका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्नातकोत्तर पुरा गरी एलएलबी अध्ययनरत मनेजर महतो वडा नं. ७ को वडाअध्यक्षको कार्यभारका साथै खैरहनी नगरकार्यपालिकाबाट सामाजिक विकास समितिको संयोजक भई काम गरिसकेका छन् । वडाअध्यक्षको हैसियतले मैले सुर्ताना र मझुई बीच कुनै भेदभाव नगरी विकास निर्माणको काम अगाडि बढाएँ । सुर्ताना–सलौली, सुर्ताना–गौचरन–पोखरेल टोल, मझुई जोड्ने बाटो ७ किलोमिटर कालोपत्रे गरेको, मझुई र सुर्ताना गाउँमा ६ हजार ५०० मिटर ढल/नाला निर्माण गरेको, सुर्ताना–मझुई गाउँको १७०० मिटर भित्री बाटोमा मोजायक टायल लगाएको, सुर्ताना–मझुईको बरमथान मन्दिर निर्माण, सुर्तानाको आधारभूत विद्यालयको भित्री बाटो ढलान, मझुई आधारभूत विद्यालयको भवन निर्माण गरेको बताए ।

आगामि चुनाव जितेपछि अधुरो रहेको काम सम्पन्न गर्नुका साथै गुणस्तरीय शिक्षा तथा स्वास्थ्यका लागि वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रलाई व्यवस्थापन गर्ने बताए । किसानहरुको वृत्तिविकासका लागि कृषि तथा पशुपन्छी प्रबद्र्धन कार्यक्रममा जोड दिने, वृद्धवृद्धा तथा एकल महिला व्यवस्थापनमा जोड दिने, दलित, विपन्न वर्ग, पिछडा वर्गको व्यवस्थापनमा जोड दिने, ऐलानी जग्गाको जग्गाधनी प्रमाण पुर्जाको लागि पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२५०७ जना मतदाता भएका खैरहनी नगरपालिका वडा नं. ७ का यी दुई वडाअध्यक्षको उम्मेदवारहरु जस्तै आफूले जसरी पनि जित्नैपर्ने भावना त्यागेर मतदातालाई नै गोप्य मतदानबाट छान्न दिने र चुनावपछि मिलेरै काम गर्ने भावनको विकास भए मात्र निर्वाचन अघिका दिनहरुमा गाउँले तथा छरछिमेकमा आपसी वैमनस्यता निर्मूल हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>