Breaking News
एमालेसंग पराजित हुनेभएपछि सत्ता गठबन्धन अनेक हत्कण्डा अपनाउने रणनीतिमा लागेः बादल

चितवन,बैशाख २४-
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा हार्ने निश्चित भएपछि धाँधली गर्न अनेक उपाय खोजी गरेको बताउनुभएको छ। चुनावी सभाको पूर्वसन्ध्यामा भरतपुरमा आज शनिवार एमाले प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सत्ता गठवन्धन पराजय हुने डरले निर्वाचनमा धाँधली गर्ने दाउमा लागेको आरोप लगाउनुभएको हो ।
भरतपुरमा सत्तारुढ दलका नेताहरुले दिएको अभिब्यक्तिप्रति टिप्पणी गर्दै उपाध्यक्ष थापाले एमालेको विजय सुनिश्चित जस्तो देखेपछि दक्षिणपन्थी गठबन्धन उत्तेजित भएर निर्वाचन जित्न अनेक हत्कण्डा अपनाउने रणनीतिमा रहेको बताउनुभयो । भरतपुर र डडेल्धुरामा उनीहरुले के के गरेका छन्, के के भनेका छन् थाहै छ, गठबन्धनलाई नजिताउने हो भने दुर्घटना हुनसक्छ भनेर जनता तर्साउने, उत्तेजित पार्ने काम गरिरहेका छन्’ नेता थापाले भन्नुभयो ।
आउने निर्वाचन दक्षिणपन्थी शक्ति र अग्रगामी समाजवादी शक्तिका बचको भीषण संघर्ष भएको नेता थापाले बताउनुभयो । अहिलेको सरकार विकास र समृद्धिलाई कसरी रोक्ने भन्नेतर्फ लागेको भन्दै नेता थापाले सरकारले देशलाई आर्थिक संकटतर्फ धकेल्न थालेको बताउनुभयो ।


























