Breaking News
आचारसंहिता उल्लङ्घन गरेको भन्दै भूमि आयोगका उपाध्यक्ष र जिल्ला अध्यक्षविरूद्ध आयोगमा उजुरी

चितवन, वैशाख २४-
आचारसंहिताको उल्लङ्घन गरेर शुक्रबार भरतपुरमा भूमिहीन तथा सुकुमबासीलाई भूमिको निस्सा वितरण गरेका भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र आयोगका जिल्ला अध्यक्ष बद्रि तिमिल्सिनालाई आरोप लागेको छ । भरतपुर–११, गणेशस्थानका भूमिहीन सुकुमबासीलाई भूमिको निस्सा बाँडेका हुन् । उनीहरुविरूद्ध निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ ।
माओवादीनिकटका उनीहरुविरूद्ध आचारसंहिता उल्लङ्घन गरेर भूमिको निस्सा बाँडेका आरोप लागेको हो ।
उनीहरुविरूद्ध निर्वाचन आयोगमा अधिवक्ता सुनिता अधिकारीले उजुरी हालेकी हुन् । ‘यस्तो बेलामा भूमिको निस्सा बाँड्ने काम निर्वाचन आचारसंहिताविपरीत हो’, उनले भनिन्, ‘आचारसंहितालाई ख्याल गरेर भूमि आयोगले नै लगत संकलन स्थगित गरेको अवस्था छ । यो मतदातालाई प्रभावित बनाएर भोट तान्ने प्रपञ्च हो ।’
आचारसंहिताविपरीत निस्सा बाँडेको विषयमा उजुरी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका प्रमुख निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले जानकारी दिए । भूमिको निस्सा बाँड्नु आचारसंहिताविपरीत हुने भन्दै उनले उजुरीमाथि अध्ययन गरेर थप प्रक्रिया चाल्ने बताए ।
त्यस्तै निस्सा बाँडेको स्वीकार गर्दै उनले लालपुर्जा बाँड्दामात्रै आचारसंहिता लाग्ने तर भूमिको निस्सा बाँड्दा आचारसंहिता नलाग्ने उनले दाबी पनि गरे ।
तर राष्ट्रिय भूमि आयोगले वैशाख ९ गते निर्वाचनसम्बन्धी आचारसंहिता लागू भइसकेको हुनाले स्थानीय तहहरुबाट भइरहेको लगत संकलनसम्बन्धी कार्यहरु स्थगित गरिएको सूचना जारी गरेको थियो ।



























