Breaking News

भरतपुरमा निर्वाचन आचासंहितको उल्लघंन,रेनुलाई भोटहाल्न दवाव दिँदै बाँडियो निस्सा

Banner

चितवन,बैशाख २३-

निर्वाचन आचारसंहिता–२०७८ को ठाडै उल्लघंन गर्दै भरतपुरमा भूमिको निस्सा बाँडिएको छ । नेकपा (माओवादी केन्द्र) निकटका भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले आज (शुक्रबार) सुकुम्बासी तथा भूमिहिनलाई भूमिको निस्सा बाँडेका हुन् ।

निर्वाचन आचारसंहिता विपरित मतदातालाई प्रत्यक्ष प्रभावित पार्न उनीहरुले भरतपुर–११ गणेशस्थानमा भूमिको निस्सा बाँडेका हुन् । भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भूमिहिनलाई निस्सा बाँडेको सगौरव स्वीकार गरे । लालपुर्जा बाँड्दा मात्रै आचारसंहिता लाग्ने तर भूमिको निस्सा बाँड्दा आचारसंहिता नलाग्ने उनले दाबी गरे । ‘मैले बाँड्न सुरुवात गरेर हिँडेको हो । कति जनालाई बाँडे थाहा भएन’, उनले भने, ‘मैले लालपुर्जा बाँड्न पाउँदिन । निस्सा बाँड्ने काम, जग्गा नाप्ने काम भइराख्ने रहेछ ।’

फेसबुकमा आज एक स्टाटस राख्दै उनले भूमिहिन सुकुमबासीले मेयरमा रेणु दाहाल र उपमेयरमा चित्रसेन अधिकारीलाई विजयी गराउन प्रतिबद्धता जनाएको बताएका छन् । मतदातालाई प्रभावित पार्न निस्सा बाँडिएको कार्यक्रममा साझा उमेदवारलाई जिताउने प्रतिबद्धता आएको उनले दाबी गरेका छन् ।

कार्यक्रममा सहभागी एक स्थानीयले माओवादी केन्द्रबाट उम्मेदवार बनेका वडाध्यक्ष र मेयरका उम्मेदवारलाई भोट हाल्न दवाव समेत दिइएको छ । आयोगका पदाधिकारीले माओवादीलाई भोट नहाले निस्सा र लालपूर्जा नपाउने चेतावनी समेत दिएका छन् । आयोगका केन्द्रिय उपाध्यक्ष सरकारी गाडी लिएर निस्सा बाँड्न र मतदाता फकाउन गणेशस्थान पुगेका थिए ।

जिल्ला निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले आचारसंहिता विपरित मतदातालाई प्रभावित पार्न भूमिको निस्सा बाँड्न नपाइने बताए । उजुरी आए कारबाही गर्न सकिने उनले जानकारी दिए । ‘निर्वाचनको बेलामा भूमिहिन सुकुमबासीलाई भूमिको निस्सा बाँड्न पाइदैन’, उनले भने, ‘हाम्रो कार्यालयमा उजुरी आयो भने हामीले सम्बन्धितलाई स्पष्टिकरण सोध्छौँ । आवश्यक परे थप कारबाही पनि हुनसक्छ ।’

मतदाता प्रभावित पार्न भूमिको निस्सा बाँड्ने व्यक्तिहरु विरुद्ध अधिवक्ता सुनिता अधिकारीले उजुरी हाल्ने तयारी गरेकी छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी हाल्न लागेको जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>