Breaking News
रामचन्द्रलाई जगन्नाथको जवाफः म पछि हट्दिन,सक्नुहुन्छ भने रेनुलाई फिर्ता गराउनुस्

चितवन,बैशाख २२-
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनका कारवाहीमा परेका कांग्रेस नेताहरु कृष्णलाल सापकोटा, मेयरका उमेदवार जगन्नाथ पौडेललगायतको टोलीसँग छलफल गरेका छन् । सभापति शेरबहादुर देउवासँगै चितवन पुगेका पौडेलले त्यहाँका नेताहरुसँग छुट्टै छलफल गरेका थिए । नेता रामचन्द्र पौडेलले सभापति देउवासँग कुरा गरेर उमेदवारी फिर्ता लिइदिन आग्रह गरेका थिए ।
त्यसपछि चितवनका कांग्रेस नेताहरु आक्रोशित भएका थिए । “सक्नुहुन्छ भने रेनुलाई फिर्ता गराउनुस् । उमेदवारी फिर्ता लिने बैठकमा बस्दैनौँ । तपाईंले बोलाउनुभयो, तपाईंको अपमान नहोस् भनेरमात्रै आएका हौँ । उमेदवारी फिर्ता गराउने कुरै नगर्नुस्,” जगन्नाथ पौडेलको भनाइ थियो ।
पौडेलका समर्थक बयोवृद्ध नेता कृष्णलाल सापकोटाले पनि अब सभापति शेरबहादुर देउवासँग कुरा गर्नुको कुनै औचित्य नभएकाले फेरि भेट्न नआउने बताएका थिए । “मैले ढाँटेर कुरा गर्दिनँ, तपाईंहरुसँग कुरा गर्न म फेरि यहाँ आउँदिन,” सापकोटाको धारणा थियो ।
नेता रामचन्द्र पौडेलले सभापति देउवासँग कुरा गर्न प्रस्ताव राखेको भए पनि चुनावी अभियान भएकाले आफूहरुलाई अहिले समय नभएको भन्दै चितवनका कांग्रेस नेताको टोली त्यहाँबाट निस्किएको थियो । सो टोली चुनावी अभियानमा जानुछ भन्दै सोही होटलमा रहेका सभापति देउवालाई नभेटी निस्किएको थियो ।
उमेदवार जगन्नाथ पौडेल, प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल, पूर्वसांसद भीमबहादुर श्रेष्ठलगायतका नेता देउवा, पौडेलसहितका नेता बसेको सिराइचुली होटलमा आएका थिए ।


























