Breaking News
भरतपुरमा आज सत्ता गठबन्धनको चुनावी सभा, प्रधानमन्त्री देउवासंगै शीर्ष नेताहरुले सम्बोधन गर्ने

चितवन, वैशाख २२–
पाँचदलीय सत्तारुढ गठबन्धनले आज चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दैछन् । सो आमसभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै भरतपुर आइसकेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, कांग्रेस महामन्त्री गगनकुमार थापालगायतका नेताहरु भने आज विहान भरतपुर आइपुग्दै छन् ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आमसभाको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिए । उनका अनुसार हाकिमचोकस्थित केन्द्रीय बस टर्मिनलको प्राङगणमा आमसभा हुनेछ ।
भरतपुर महानगरपालिकामा गठबन्धनबाट साझा उम्मेदवारका रुपमा प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल उम्मेदवार छिन् भने उपप्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् ।


























