Breaking News
रेनु दाहाललाई मेयर जिताउन काँग्रेस केन्द्रिय नेताहरु चितवनमा, प्रधानमन्त्री देउवा आज आउँदै

चितवन,बैशाख २१-
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (बुधबार) भरतपुर आउने भएका छन् । भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनले मेयर पदमा नेकपा (माओवादी केन्द्र)का रेनु दाहाललाई महानगर प्रमुखमा उठाएको छ । यसबाट असन्तुष्ट बनेका चितवनका कांग्रेस नेता/कार्यकर्ताहरूले पुराना नेता जगन्नाथ पौडेललाई मेयरमा उठाएपछि भरतपुर चर्चामा छ । यसअघि भतपुरमा गृहमन्त्री आएर तीन दिन बसेर फर्केका थिए ।
पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारी अहिले भरतपुरमा नै छन् । उनले राजनीतिक भेटभाटलाई तीव्रता दिएका छन् । बुधबार बिहान उनी बसेको होटल सिराइचुलीमा चितवनका नेतारकार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो । सोही होटलमा आयोजित पत्रकार सम्मेलनमा नेता शंकर भण्डारीले प्रधानमन्त्री देउवा आज नै भरतपुर आउने जानकारी दिए ।नेता रामचन्द्र पौडेल पनि चितवन आइसकेका छन् ।
सत्तारुढ गठबन्धनले बिहीबार (भोलि) भरतपुरको केन्द्रीय बसपार्कमा संयुक्त चुनावी सभा आयोजना गरेको छ । सो सभालाई देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूले सम्बोधन गर्ने भएका छन् । मेयर उम्मेदवार रेनु माओवादी अध्यक्ष दाहालकी छोरी हुन् । चितवनका सत्तारुढ गठबन्धनले यहाँका सातै पालिकामा वडास्तरसम्म तालमेल गरेका छन् ।
उता पार्टीको निर्णय अवज्ञा गर्दै मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेल चुनाव चिह्न भुइँकटर लिएर प्रचार अभियानमा छन् । भरतपुरमा ७४ सालको स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्र र कांग्रेसले तालमेल गरेका थिए । त्योबेला पनि जिल्लामा चर्को विरोध भएको थियो । यो पटक चुनावी तालमेल गर्दा भरतपुरको मेयर पद कुनै पनि हालतमा नछाड्न कांग्रेसका नेतारकार्यकर्ताको चर्को दबाब थियो ।


























