चितवन विशेष

भरतपुर-१० मा गठबन्धन भित्र किचलो, नेकपा एसका जिल्ला उपाध्यक्षलाई वडा सदस्यमा अस्वीकार

Banner

चितवन,बैशाख २०-

भरतपुर महानगरपालिका–१० मा गठबन्धनमा आबद्ध दलबीच किचलो बढेको छ । गठबन्धनले पूर्ववडाअध्यक्ष एवम् नेकपा एसका जिल्ला उपाध्यक्ष अरुणपीडित भण्डारीलाई वडा सदस्यमा नस्वीकार्दा गठबन्धनमा गडबढ भएको हो ।

यहाँ कांग्रेस र माओवादीमात्रै चुनावी प्रचारमा निस्केका छन् । गठबन्धनबाट वडा अध्यक्ष उम्मेदवार परमेश्वर खनाल, सदस्य रेशमराज थापा र पार्वती परियार नेपाली कांग्रेसका उम्मेदवार हुन् भने शम्भुलाल पाख्रिन नेकपा (माओवादी केन्द्र) का हुन् ।

नेकपा एसबाट वडा सदस्य उम्मेदवार भण्डारीले गठबन्धनले आफ्नो पार्टीको निर्णय स्वीकार नगरेका कारण समस्या भएको बताए । उनले भने, ‘सहमतिअनुसार पार्टीले मलाई वडा सदस्यको उम्मेदवार बनाउने निर्णय गर्‍यो, तर उहाँहरुलाई स्वीकार भएन । आफ्नो पार्टीको उम्मेदवारको निर्णय गर्ने जिम्मा त हाम्रै पार्टीलाई हुन्छ नि !’

यहाँ नेकपा (एकीकृत समाजवादी)ले वडा अध्यक्षसहित दुई वडा सदस्यको उम्मेदवारी कायम राखेको छ । राष्ट्रिय जनमोर्चाले यसअघि नै गठबन्धनबाट बाहिर रहेको विज्ञप्तिमार्फत जनाइसकेको छ । गठबन्धनमा विवाद भएपछि यहाँ आफ्ना उम्मेदवार भक्तिप्रसाद गौतमसहितको टीमलाई फाइदा हुने एमाले नेताहरुको दाबी छ । एमाले वडा नम्बर १० को पाँच नम्बर क्षेत्रका निर्वाचन प्रचार संयोजक रामबाबु श्रेष्ठले गठबन्धनमा विवाद हुँदा आफूहरुलाई अन्य दलका कार्यकर्ताबाट समेत शुभेच्छा आएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>