Breaking News

स्थानीय निर्वाचनः २०७४ मा भरतपुरका यी वडामा थियो झिनो मतान्तर

Banner

चितवन, वैशाख १९–

स्थानीय तहको निर्वाचन २०७९ आउन अब १२ दिन मात्रै बाँकी छ । वैशाख ३१ गते हुने निर्वाचनका लागि यतिबेला राजनीतिक दलहरु घरदैलो अभियानमा व्यस्त छन् । यसपटकको निर्वाचन रोचक हुने देखिएको छ । दलहरु गठबन्धन गरेर निर्वाचनमा होमिएकाले कडा प्रतिस्पर्धा हुने अनुमान छ । गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा पनि केही वडामा कडा प्रतिस्पर्धा भएको थियो । आज हामी त्यतिबेला १०० मत भन्दा कम अन्तरले नतिजा सुम्पनु परेको वडाहरुको चर्चा गर्दैछौं ।

भरतपुर महानगरपालिकाको वडा नं.१ को नतिजा नै त्यतिबेला प्रतिस्पर्धात्मक बन्यो । सो वडामा नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका जयमराम श्रेष्ठ मात्र १४ मतको अन्तरले विजयी भएका थिए । उनले एमालेकी गीता श्रेष्ठलाई पराजित गरेकी थिइन् । त्यसबेला गीताले ११६३ मत प्राप्त गरेकी थिइन् ।

भरतपुर महानगरपालिकको सबै भन्दा कडा प्रतिस्पर्धा भएको वडा हो ४ नम्बर । सो वडामा एमालेका हरिप्रसाद आचार्य मात्र ७ मतको अन्तरले विजयी भएका थिए । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उपेन्द्रराज सापकोटाले १७१३ मत प्राप्त गरेका थिए । यस्तै त्यसेबला वडा नं.५ मा पनि उस्तै प्रतिस्पर्धा रह्यो । एमालेका पदमपाणी सुवेदी मात्र ९१ मत अन्तरले विजयी भएका थिए । सुवेदीले १७८० मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका भक्तिप्रसाद तिमिल्सिनाले १६८९ मत प्राप्त गरेका थिए ।

त्यसैगरि भरतपुर ७ को नतिजा पनि निकै प्रतिस्पर्धात्मक थियो । तत्कालिन नेकपा एमालेका राजेन्द्रमणि काफ्ले १५ मतको झिनो अन्तरले जित हात पारेका थिए । कांग्रेसका श्यामप्रसाद लामिछाने १४८० मत प्राप्त गरेका थिए ।

भरतपुरका ८ देखि २४ नम्बरको वडाको नतिजामा खासै अन्तर थिए । कम्तीमा २०० को अन्तरमा उम्मेद्वारले जित हात पारेका थिए । तर वडा नं.२५ मा भने नेकपा (माओवादी केन्द्र)का विजय कुमार भुजेल ५६ मतले मात्रै विजयी भएका थिए उनले ११०० मत ल्याउन नेकपा एमालेका थमबहादुर पुनले १०४४ मत ल्याएका थिए ।

त्यस्तै भरतपुरको २७, २८ र २९ नम्बर वडामा पनि कडा प्रतिस्पर्धा भएको थियो । २७ मा नेपाली कांग्रेसका गोविन्द तामाङ ६१ मतअन्तरले जितेका थिए । तामाङले ११२९ मत ल्याउँदा एमालेका ढुण्डुराज गुरुङले १०६८ मत ल्याएका थिए ।

यस्तै भरतपुर २८ मा एमालेका आशबहादुर कुमाल ६६ मतले जित हात पारेका थिए । उनले ७४५ ल्याएका थिए । कांग्रेसका हरिचन्द्र महतोले ६७९ मत ल्याएका थिए । यस्तै महानगरको एक मात्र पहाडी भूभाग समेटिएको भरतपुर–२९ मा पनि एमालेका मनबहादुर मगर ४२ मत अन्तरले मात्रै जितेका थिए । मनबहादुरले १०४९ मत ल्याएका थिए भने कांग्रेसका सूर्यबहादुर गुरुङले १००७ मत प्राप्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>