चितवन विशेष

भरतपुरका अधिकांस सडकमा छैन नाली,एकैछिन परेको पानीले डुब्छन सडक

Banner

चितवन,बैशाख १९-

पूर्वाधार विज्ञ सूर्यराज आचार्यले भरतपुर महानगरपालिकाको पाँच वर्षे नेतृत्वमा व्यवस्थित सहरी विकासको सोच नदेखिएको बताएका छन् । भरतपुर महानगर सडकलगायतका पूर्वाधार निर्माणमा उल्टो बाटो हिँडेको उनी बताउँछन् । भरतपुरमा वर्षेनी मान्छेको चाप अत्यधिक बढ्दै गएको अवस्थामा व्यवस्थित सहरी विकासलाई भने प्राथमिकता नदिइएको उनले बताए ।

‘भन्दा पूर्वाग्राही भएर भन्यो भन्लान् तर मैले एउटा विज्ञका रुपमा भन्नुपर्दा भरतपुर महानगरपालिका पूर्वाधार निर्माणमा उल्टो बाटो हिँडेको छ’, उनी भन्छन्, ‘भरतपुरको विकासले काठमाडौँको जस्तै गलत सहरी विकास समेटेको छ ।’

उल्टो गतिको विकासले पैसाको नाश मात्र भएको उनी बताउँछन् । ‘व्यवस्थित सहरी विकासको लागि पाँच वर्षे नेतृत्वमा त्यस्तो सोच देखिएन’, उनले भने, ‘म धेरै पटक भरतपुरमा आउने र बस्ने गरेको छु । पुराना ग्राभेल भएको बाटोमा पिच गर्ने काम मात्रै भएका छन् । अहिले भौतिक विकासको जुन शैली छ । त्यसलाई भविष्यका पुस्ताले स्वीकार गर्न सक्दैनन् ।’

काठमाडौँमा अहिले एक मिटर बाटो विस्तार गर्न फलामको चिउरा चपाए जस्तै हुने गरेको भन्दै उनले भरतपुर पनि त्यहि गतिमा हिँडेको बताए । व्यवस्थित सहरी विकासको लागि योजनाको स्पष्ट ‘ब्लु प्रिन्ट’ आवश्यक पर्ने उनी बताउँछन् । ‘हिलोमा हिँडेको मान्छेलाई सडक पिच भएपछि त धेरै नै भएको जस्तो लाग्ला । तर मैले राम्रो भएको छ भन्न सक्ने अवस्था छैन’, उनी भन्छन्, ‘उल्टो विकासलाई रोक्न भरतपुरलाई अझै पनि मौका छ ।’

पछिल्लो पाँच वर्षमा महानगरले बनाएका अधिकांश बाटोमा नाली छैन । करोडौं रुपैयाँ खर्चिएर फुटपाथमा टायल विछ्याइएको छ तर लाखमा उम्किने नालीको काम गरिएको पाइदैन । नाली नै नहुँदा बर्खामा सडक, घर, अस्पताल, सरकारी कार्यालयलगायतका संरचनाहरु डुबानमा पर्ने गरेका छन् ।

नयाँ कालोपत्रे गरिएका सडकमा समेत नाला बनाइएको छैन । पानीको निकास नहुँदा बर्खामा सरकारी कार्यालय पुग्ने सेवाग्राही हातमा जुत्ता लिएर कार्यालय प्रवेश गर्नुपर्ने बाध्यता छ । महानगरमा अब आउने जनप्रतिनिधिले दिगो विकासमा ध्यान दिनुपर्ने देखिन्छ ।

भरतपुर महानगरपालिकामा पछिल्लो पाँच वर्षमा धेरै विकास भएको चर्चा हुने गर्छ । भरतपुरका अधिकांश स्थानमा सडक पिच पनि भएका छन् । केहि ठाउँमा हुने क्रममा छ, तर घाम लाग्दा काला र चिल्ला देखिने सडक एकझरको पानीमा डुबानमा पर्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>