चितवन विशेष

भरतपुरका काँग्रेस बागी उम्मेदवार जगन्नाथ पौडेलको चुनाव चिन्ह भुईकटहर

Banner

चितवन,बैशाख १७-

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले भुईकटहर चुनाव चिन्ह पाएका छन् । मूख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई भुईकटहर चुनाव चिन्ह प्रदान गरेको हो । नेपाली काँग्रेसका नेता सुर्य बस्नेतका अनुसार कार्यालयले पौडेललाई भुईकटहर चुनाव चिन्ह दिएको हो । आजैदेखि पौडेलले निर्वाचनको प्रचारप्रसार र घरदैलो थाल्ने उहाँले बताउनुभयो ।

निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गरिनेछ । शुक्रबार निर्वाचन आयोगले उजरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रिनेछन् । उनीहरूलाई नै आज निर्वाचन चिह्न प्रदान गरिएको हो ।

उम्मेदवारहरूले निर्वान चिह्न पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन् । मतदान यही वैशाख ३० गते हुनेछ । पाँच दलिय गठबन्धनका तर्फबाट भरतपुरको मेयरमा माओवादी केन्द्रकी केन्द्रिय सदस्य रेनु दाहालले उम्मेदवार बनाएपछि रुष्ट बनेका काँग्रेस नेता कार्यकर्ताको तर्फबाट पौडेलले उम्मेदवारी दिएका हुन् । पौडेललाई उम्मेदवारी फिर्ता गराउन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठलाई भरतपुर पठाए पनि पौडेलले नमानेपछि मन्त्रीद्वयको तीन दिनसम्मको प्रयास निरर्थक भयो । स्वयं कांग्रेस सभापति देउवाले पार्टीका पुराना नेता पौडेललाई आफ्नो आकांक्षा रेनु दाहालको विजयमा समर्पित गर्न निर्देशित गरेका थिए तर पार्टी र कार्यकर्ताको प्रतिष्ठा भन्दै उनले विद्रोही बाटो रोजे ।

२०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रकी रेनु दाहाल २ सय ३ मतको अन्तरले नगरप्रमुख निर्वाचित भएकी थिइन । उतिबेला कांग्रेसले आफ्नोतर्फबाट उम्मेदवार बनेका दिनेश कोइरालालाई फिर्ता गरेर दाहाललाई समर्थन गरेको थियो । यस पटक भने भरतपुरका पुराना कांग्रेस नेता एवं पूर्वसांसद पौडेल पुनः प्रमुख बन्ने दौडमा रहेकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपुत्री रेनुको चुनावी यात्रामा तगारो बनेका छन । कांग्रेसका पुराना नेताहरू पौडेलको प्रचारमा हिँडेका छन । उम्मेदवारी फिर्ता लिने समय सकिएपछि आयोजित सभामा पौडेलका प्रस्तावक एवं पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा, समर्थक एवं महासमिति सदस्य मीना खरेल, पूर्वसांसद भीमबहादुर श्रेष्ठ, तरुण दलका संस्थापक अध्यक्ष शम्भु अर्याललगायत सहभागी थिए । पूर्वसांसद श्रेष्ठले बाहिर खुल्न नसके पनि सबै कांग्रेसीको समर्थन पौडेललाई रहेको दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>