चितवन विशेष

चितवनमा ट्रक नै कब्जा गरी लत्ताकपडा चोरी गर्ने गिरोह पक्राउ

Banner

चितवन,बैशाख १५-

राजमार्गमा गुडिरहेको ट्रक कब्जामा लिएर खुद्रा सामान र लत्ताकपडा चोरी गर्ने गिरोहका केही व्यक्तिलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ। वीरगञ्जबाट आउँदै गरेका दुइटा ट्रकमा लोड गरिएका खुद्रा सामान र लत्ताकपडा बुधबार पूर्व–पश्चिम राजमार्गको नयाँ बस्ती भन्ने ठाउँमा लुटिएका थिए।

ट्रकका चालकले घटनाको विषयमा जानकारी गराएपछि तुरुन्त प्रहरी परिचालन गरी ट्रक, लुटिएका सामान, लुटपाटमा प्रयोग भएका सवारी साधनसहित केही व्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार राप्ती नगरपालिका–१ मा पर्ने राजमार्गमा ५/७ जनाको नकाबधारी समूहले आफ्नो गाडी ट्रकको अगाडि रोकेर चालकलाई धम्काएका थिए। उनीहरुले ट्रक चालकलाई नियन्त्रणमा लिएर लोड गरिएका सामानहरु कब्जामा लिएको अनुसन्धानबाट देखिएको एसपी अधिकारीले बताए।

‘सूचना पाएलगत्तै जिल्ला, इलाका प्रहरी कार्यालय टाँडी, खैरहनी र भण्डाराबाट व्यापक रूपमा प्रहरी परिचालन गरियो। राजमार्गमा ट्रकलाई रोकेर धम्की दिई लोड गरिएका सामानहरू आफ्नो गाडीमा लगेका रहेछन्,’ अधिकारीले भने।

लुटिएका सामान खोजतलास गर्नेक्रममा बागमती प्रदेश ०३–००१ च ०६६२ नम्बरको सवारी साधन, त्यसका चालक पवन भट्टराई र त्यसमा सवार मनिष केसीलाई राप्ती–८ वीरेन्द्रनगरबाट र प्रदेश २–०३–००१ च ०८४७ नम्बरको सवारी साधन र चालक ऋषिराम शर्मालाई खैरहनी–९ सिमलटाँडीबाट नियन्त्रणमा लिइएको उनले बताए। पक्राउ परेका व्यक्तिहरुसँग सोधपुछ गर्दा डाँकागरी लगेका लत्ता कपडाहरु रत्ननगर–१४ लौरीघोल स्थित गाई फारमबाट बरामद गरिएको थियो।

जिल्ला प्रहरीले ना ३ ख ७६२९ र ना ३ ख ७६५६ सम्बरका ट्रक र चोरी गरिएका बाहेकका लत्ताकपडा आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए।

पक्राउ परेका १९ वर्षीय भट्टराई खैरहनी–२ सिमलघारी, २४ वर्षीय केसी राप्ती–८ खुरखुरे र ३९ वर्षीय ऋषिराम शर्मा खैरहनी–९ सिमलटाँडीका हुन्। लुटपाटमा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको अधिकारीले बताए। बरामद गरिएको कपडा र चोरीमा संलग्न सवारी साधन जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>