चितवन विशेष
नारायणगढमा खुल्दै पहिलो ‘जम्प एण्ड स्केट पार्क’

चितवन, वैशाख १०–
चितवनको नारायणगढमा जम्प एण्ड स्केट पार्क खुल्ने भएको छ । नारायणगढस्थित नगरवन क्षेत्रमा बालबालिकादेखि सबै उमेरसमूहका खेलप्रेमीलाई लक्षित गर्दै पार्क संचालन गर्न लागिएको हो ।
पार्ककको शनिबार विहान एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । जम्प एण्ड स्केट पार्क प्रा.लि.का अध्यक्ष केशव अधिकारीले पार्कको शिलान्यास गरे । सो क्रममा बोल्दै उनले यस पार्कले चितवनलाई खेलकुद पर्यटनको रुपमा विकास गर्न सघाउ पुर्याउन बताए । स्वस्थ जीवनका लागि खेलकुद आवश्यक रहेको भन्दै यसले सबै खेलप्रति रुची बढाउने अधिकारीले बताए ।
पार्कमा स्केट, ट्रमपोलिन, मंचटाइम क्याफे, इण्डोर व्याडमिन्टन कोर्ट, आर्चरी, रक क्लाइम्बिङ, ट्रि हाउस, आर्केड गेमलगायत रहने पार्कका प्रवन्ध निर्देशक सुदिप पियाले जानकारी दिए । उनले साहसिक खेल पर्यटनलाई प्रवद्र्धन गर्न पार्कले सहयोगी भूमिका खेल्ने बताए । वृहत साहसिक खेलहरु समेटिएको यो चितवनकै पहिलो पार्क हुनेछ ।
यस पार्कको संचालकमा अध्यक्ष अधिकारी, प्रवन्ध निर्देशक पियासंगै निर्देशकहरु डा.सञ्जिव तिवारी र विनय पौडेल रहेका छन् । चार जना युवा समूह मिलेर यस पार्कको अवधारणा ल्याईएको हो । यसअगाडि अध्यक्ष अधिकारीले भने पोखरामा ६ महिना अगाडिबाट स्केटिङ पार्क संचालन गरिरहेका छन् ।




























