Breaking News

चितवनका वडा तहमा गठबन्धन गर्न सकस,९८ वटै वडामा पाँच दलको भागबण्डा मिलेन

Banner

चितवन,बैशाख ९-

चितवनका पालिका स्तरमा भागबण्डा मिलाएका सत्ता साझेदार गबन्धनलाई वडा तहमा सकस देखिएको छ । जिल्ला स्तरिय गठबन्धनको तीनदिनसम्म लगातार बैठक बस्दा पनि जिल्लाका ९८ वटै वडामा भागबण्डा मिल्न सकेको छैन । राति ९ बजेसम्म बसेको गठबन्धनको बैठकबाट सहमति जुट्न नसकेपछि आजसम्मका लागि स्थगित भएको छ ।

चितवनमा गठबन्धनलाई संयोजन गरिरहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी वडा तहमा उम्मेदवारको भागबण्डा मिलाउन पटक–पटक बैठक बसेको छ । गठबन्धनका दलले आ–आफ्नै दाबी बैठकमा प्रस्तुत गरिसकेका छन् ।

गठबन्धन दलबीच औपचारिक अनौपचारिक रूपमा पटकपटक बैठक छलफल भइरहे पनि कुनै प्रगति हुन नसकेको बताइएको छ । चितवनमा यसअघिको निर्वाचनमा विजयी भएका बाहेक एमालेले जितेको ठाउँमा अन्य पार्टीको दाबी छ । जसका कारण भागबण्डा मिल्न नसकेको कार्यदलका एक सदस्यले बताए । ९८ वटा वडा मध्ये चितवनमा एमाले एक्लै ५६ वडा जितेको थियो । एमालेले भरतपुरका मात्र १४ वटा वडा जितेको छ । जसमा ५ वडाध्यक्ष नेकपा (एकीकृत समाजवादी)मा गएका छन् । सो स्थानमा उनीहरुलाई नै छाड्ने मोटामोटी सहमति भएको छ । तर, अन्य वडामा पनि दावी गरेपछि सहमति जुट्न सकेको छैन । त्यस्तै रत्ननगर नगरपालिकामा एमालेले १० वडाध्यक्ष जितेको थियो । त्यहाँ पनि नेकपा (एस)ले आफ्नो दावि छाडेको छैन । रत्ननगरमा मेयर पद पाएको कांग्रेसले एमालेले जितेका वडामा सम्मानजनक उपस्थिति हुनुपर्ने माग गरेको छ । यसअघिको निर्वाचनमा कांगेसले रत्ननगर नगरपालिकाबाट ६ वटा वडाध्यक्ष जितेको थियो ।

खैरहनीमा एमालेले ७, राप्तीमा ११, कालिकामा ६, माडी नगरपालिकामा ५, र इच्छाकामना गाउँपालिकामा ३ वटा वडाध्यक्ष जितेको थियो । सोही स्थानमा भागबण्डा हुन सकेको छैन । पालिकाको नेतृत्वमा दावी नगरेको साना दलले पनि वडाध्क्षमा आफ्नो सहभागिता हुनुपर्ने माग गर्दै आएका छन् । राष्ट्रिय जनमोर्चा भरतपुर, रत्ननगर र कालिकामा गरि ३ वटा वडाध्यक्ष माग गरेको छ । त्यस्तै, कम्तिमा सम्मानजनक उपस्थिति हुनुपर्ने माग गरेको छ ।

गठबन्धनका ठुला दलले एमालेले जितेका स्थानमा भागबण्डा सहमति गरेका छन् । यसरी भागबण्डा गर्दा दोस्रो मत र तेस्रो मत भारका आधारमा गर्नुपर्ने धारणा नेपाली कांग्रेसको छ । त्यसमा राजमो, जसपा, एस र माओवादीहरु सकरात्मक देखिएका छैनन् । तर, साना दललाई प्रतिनिधित्व गराउने गरि सहभागिता गराउने तयारी गरिएको नेपाली कांग्रेस चितवनका सचिव धु्रब पोख्रेलले जानकारी दिनुभयो ।

केन्द्रले भरतपुर महानगरपालिकाको मेयर माओवादीलाई दिने निर्णय गरेपछि यहाँका सत्ता साझेदार दलले ६ वटा पालिका नेतृत्वको भागबण्डा मिलाईसकेको छन् ।
बुधबार दिउँसो बसेको सत्ता गठबन्धन आवद्ध दलहरूको बैठकले भरतपुर महानगरबाहेकका ५ नगरपालिका र १ गाउँपालिकाको प्रमुख तथा उपप्रमुखको खाका तयार गरेका थिए । जसअनुसार कांग्रेसले ४ पालिकाको प्रमुख र ३ पालिकाको उपप्रमुख पाउने छ ।

रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र कालिका नगरपालिका तथा इच्छाकामना गाउँपालिकाको प्रमुख नेपाली कांग्रेसले पाउने सहमति भएको छ । माओवादी केन्द्रले भरतपुर महानगरसहित माडी नगरपालिकाको प्रमुख र एकीकृत समाजवादीले राप्ती नगरपालिकाको प्रमुख पाउने छ ।

भरतपुरको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली कांग्रेसले पाउने गरी सहमति भैसकेको छ । कांग्रेसले भरतपुरबाहेक माडी, राप्ती र इच्छाकामनाको उपप्रमुख पाउने छ । यस्तै समाजवादीले रत्ननगरको उपप्रमुख पाउने सहमति छ । माओवादीले खैरहनी र कालिका नगरपालिकाको उपमेयर पाउनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>