Breaking News

निर्वाचन आचारसंहिता पालना गर्न चितवनका दलहरुले जनाए प्रतिबद्धता

Banner

चितवन,बैशाख ९-

‘चुनावी प्रचारमा हिँड्ने कार्यकर्तासँग मोटरसाइकलको लाइसेन्स हुँदैन । हेलमेन्ट लगाउँदैन् । तीन जनासम्म चढ्छन् । उनीहरुलाई समातेर ल्याए हाम्रो पार्टीको मान्छे हो छोडिदिनु प¥यो तपाईंहरु नै भन्नुहुन्छ ।’ मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले बिहीबार आयोजना गरेको राजनीतिक दलहरुबीचको बैठकमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले तितो यथार्थ पोख्नुभयो ।

उहाँ त्यतिमा मात्र रोकिनुभएन र राजनीतिक दलहरुलाई प्रश्न गर्दै भन्नुभयो, ‘कार्यकर्तालाई चुनावी प्रचारमा प्रयोग गर्दा उनीहरुको दुर्घटना भएर मृत्यु भएमा तपाईहरु जिम्मा लिनुहुन्छ ? निर्वाचन आचारसंहिता पालनाको प्रतिबद्धता गरेपनि व्यवहारमा त्यस्तो नदेखिएको अधिकारीले बताउनुभयो । दलका चुनावी प्रचारप्रसारमा निकालीले ¥यालीहरु अव्यवस्थित र दुर्घटना निम्तिने खालका रहेको बताउँदै आसन्न निर्वाचनमा यस्ता गतिविधि नगर्न उहाँले अनुरोध समेत गर्नुभयो ।

निर्वाचन आयोगले निर्वाचनलाई निष्पक्ष, स्वच्छ र धाँधलीरहित आचारसंहिता लागू गर्दछ । सोही अनुसार, राजनीतिक दलहरुले प्रतिबद्धता पनि जनाउँदछन् । तर, उनीहरुले पूर्णपालना गरेको पाइंदैन । ठूला राजनीतिक दलबाट नै निर्वाचन आचारसंहिता पालना नभएको राष्ट्रिय जनमोर्चा चितवनका अध्यक्ष डम्मर पुरीको दाबी छ । ‘आचारसंहिता सुरु भएदेखि नै ठूला पार्टीहरुले आचारसंहिता पालना गरेका छैनन्’ उहाँले भन्नुभयो, ‘विगतमा पनि प्रशासनले आचारसंहिता पालना नगर्नेलाई कारबाही गरेको देखिएन । अहिले पनि कारबाही होला भन्ने आश छैन ।’

जनप्रतिनिधिले कुनैपनि विकास निर्माणका उद्घाटन, शिल्यान्यास तथा सभा सम्मेलन गर्न निर्वाचन आचारसंहिताले रोक लगाएको छ । यद्यपि चितवनका जनप्रतिनिधिहरुले धमाधम गर्ने गरेका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चैत्र २९ गते साझापुरको माध्यमिक विद्यालयको ४ कोठे माध्यमिक विद्यालयको भवन शिलान्यास गर्नुभएको थियो । त्यस्तै अन्य स्थानहरुमा पनि उहाँ सक्रिय बनेको देखिन्छ ।

तर, नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश सदस्य गोपाल न्यौपाने जनप्रतिनिधिबाट त्यस्तो नभएको बताउनुहुन्छ । ‘हाम्रो मेयर, वडाध्यक्ष, प्रदेश सभा तथा प्रतिनिधि सभाका सदस्य ज्यूहरु हुनुहुन्छ उहाँहरु निर्वाचन आचारसंहिताभित्र रहेर नै आफ्ना गतिविधि गर्नुभएको छ’, उहाँले जनप्रतिनिधिको बचाउ गर्दै भन्नुभयो, ‘पूर्व निर्धारित तथा समीक्षा कार्यक्रममा जानुपर्ने भएर जानुभएको छ ।’ यस्ता क्रियाकलापलाई मध्यनजर गर्दै निर्वाचन कार्यालयले आचारसंहिता पूर्णपालना गर्न अनुरोध समेत गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले राजनीतिक दलहरुलाई बोलाएर नै आचारसंहिता पूर्णपालना गर्दै निर्वाचनलाई सभ्य बनाउन अनुरोध गरेको हो । सो कार्यक्रममा चितवनका राजनीतिक दलले स्थानीय निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले निर्वाचनलाई निष्पक्ष, स्वच्छ र धाँधलीरहित बनाउन निर्वाचन कार्यालय, प्रहरी प्रशासन र निर्वाचनमा खटिने कर्मचारीले पनि निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

नेकपा (एमाले) वाग्मती प्रदेश सदस्य अधिवक्ता मुकुन्द दाहालले एमाले चितवन निर्वाचन आचारसंहिता पालनाका लागि कटिबद्ध भएको बताउनुभयो । ‘नेकपा एमाले उदाहरणीय भूमिका स्थापित गर्न चाहन्छ,’ उहाँले भन्नुभयो, ‘यसअघि पनि एमालेले विगतमा त्यस्तो उदाहरणहरु पनि स्थापित गरिसकेको छ ।’ नेपाली काँग्रेस चितवनका उपसभापति राजीव न्यौपाने निर्वाचन आचारसंहिता पालाना गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।

‘आचारसंहिता पालानामा हामी प्रतिबद्ध छौँ । नेपाली काँग्रेस जनताको मताधिकारबाट सत्ता सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राखेको पार्टी हो । निर्वाचन आयोगले जारी गरेका आचारसंहिता पालाना गर्नु हाम्रो धर्म र कर्म हो’–उहाँले भन्नुभयो । जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रेम भुजेल आचारसंहिता पालाना गर्नु आफ्नो पार्टी जिम्मेवारी रहेको बताउनुहुन्छ । ‘हामी आचारसंहिता पालाना गर्छौँ । ठूला पार्टीले बरु तोडेको देखिएको छ तर सानो पार्टी भएपनि आचारसंहिता पालाना गर्छाँै’ उहाँले भन्नुभयो ।

अहिले सामाजिक सञ्जाल, सार्वजनिक स्थल लगायतका स्थानमा चुनावी प्रचार प्रसार गर्न पाईंदैन । आचारसंहिता उल्लंघन भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले बताउनुभयो । आचारसंहिता पालानामा पार्टीहरुले ख्याल राख्नुपर्ने अधिकारीको भनाइ छ ।

निर्वाचन आयोगले तोकेका हरेक आचारसंहिता पालानामा कुनै कसुर छाड्न नहुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘मैले कानुन बाहेक अरु जानेको छैन । त्यहि अनुसार पार्टीहरुले सघाउनुहुनेछ ।’ उहाँले कुनैपनि उम्मेदवारले आचारसंहिताको उल्लङ्घन गरेमा उम्मेदवारी रद्द समेत गर्नसक्ने कानुनी व्यवस्था भएकाले त्यसतर्फ सचेत रहन अनुरोध गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>