Breaking News
गठबन्धनको निर्णय कार्यान्वयन गराउन सकरात्मक वातावरण बनाउँदै चितवन कांग्रेस

चितवन, वैशाख ८–
नेपाली कांग्रेस चितवनले सत्तागठबन्धनको निर्णयलाई कार्यान्वयमा लैजान सकरात्मक वातावरण बनाउन थालेको छ । निर्वाचनको मिति नजिकदै गर्दा आक्रोशित बनेका कांग्रेस कार्यकर्ताहरुलाई सम्झाउने गरि जिल्ला कार्यसमित लागि परेको छ ।
भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले नै पाउनुपर्ने बटमलाइन भए पनि केन्द्रले गरेको निर्णयलाई नकार्न सकिने निश्कर्षमा कांग्रेस चितवन पुगेको छ । जिल्ला सचिव ध्रुव पोखरेलले पार्टीको निर्णयलाई मान्नै पर्ने बाध्यता भएकाले अब सकरात्मक वातावरण बनाउँदै लैजाने बताए । ‘भरतपुरको मेयर नछाड्ने हाम्रो बटमलाइन नै थियो, तर पार्टीले निर्णय नै गरिसकेपछि मान्दैनौं भन्न मिल्दैन, केन्द्रको निर्णयलाई शिरोपणगर्दै वातावरणलाई अनुकुल बनाउने प्रयत्नमा छौं’–सचिव पोखरेलले नारायणी अनलाइनसंग भने ।
सत्तागठबन्धनले भरतपुर महानगरपालिकाको मेयर नेकपा (माओवादी केन्द्र)लाई दिने सहमति गरेको छ । सोही अनुरुप महानगरको मेयरमा रेनु दाहाल पुनः उम्मेद्वार बन्दै छिन् । कांग्रेसले मेयरमा माओवादीलाई भोट हाल्नुपर्ने हुन्छ भने उपमेयरमा माओवादीले कांग्रेसका उम्मेद्वारलाई भोट हाल्नुपर्ने हुन्छ ।
गठबन्धनको निर्णय अनुसार नै कांग्रेस चितवनको नेतृत्वमा जिल्लाका सबै पालिकाहरुमा गठबन्धन गर्ने प्रयासहरु भइरहेका छन् । भरतपुर बाहेक अन्य ६ पालिकामा पनि गठबन्धन गरेर जाने निचोडमा दलहरु पुगिसकेका छन् । सोही अनुसार कांग्रेसले तीन नगरपालिकासहित एक गाउँपालिका, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक÷एक नगरपालिका नेतृत्व गर्ने सहमति बनेको छ । गठबन्धनले सबै पालिकाहरुको वडा समेत भागबण्डा गर्ने गरि निरन्तर छलफलमा जुटिरहेका छन् ।


























