चितवन विशेष
श्री मेडिकल कलेजको बन्यो सुबिधा सम्पन्न भवन, उपकुलपतिबाट उद्घाटन

चितवन, वैशाख ८–
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले समाज, मुलुक र बिश्वबिद्यालयलाई शक्ति प्रदान गर्ने गरि काम गर्नु पर्ने बताउनुभएको छ । श्री मेडीकल एण्ड टेक्निकल कलेज भरतपुरको नबनिर्मित भवनको आज (बिहीबार) उद्घाटन गर्दै उहाँले नीजि शिक्षण संस्थाहरुले पूर्वाधारमा पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
नीजि क्षेत्रमा उत्कृष्ठ कलेजका रुपमा यस कलेज अघि बढेको भन्दै सम्बन्धन पाएका र आंगिक क्याम्पसहरुले गुणस्तरमा ध्यान दिनु पर्नेमा उहाँको जोड थियो । सो अवसरमा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश्वर दाहालले शैक्षिक क्षेत्रको बिकासका लागि विश्वविद्यालयले प्राध्यापकहरुको मूल्याङ्कनको काम सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो “शैक्षिक क्षेत्रमा सुधारका लागि अध्ययन संगै अनुसन्धानमा पनि जोड दिनु पर्छ ।”
कार्यक्रममा विश्वविद्यालयका रजिष्टार निलमणी पोख्रेलले शैक्षिक क्षेत्रको सुधारका क्रममा विश्वविद्यालय अघि बढेको बताउनुभयो । विश्वविद्यालय सुधारका क्रममा अहिले नयाँ पाठ्यक्रम बनाएर अघि बढेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “बजारको माग अनुसार पाठ्यक्रम बनाएर अघि बढेका छौ ।” कोरोना कहरको समयमा समेत विश्वविद्यालयले वार्षिक कार्यक्रमहरुलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा विश्वविद्यालयबाट सम्बन्धन पाएका नीजि स्वास्थ्य शिक्षण संस्थाहरुको छाता संस्था एसियाका अध्यक्ष यमप्रसाद अधिकारी, विश्वविद्यालयका डिन डा. शैलेसमणी पोख्रेल, विश्वविद्यालयको प्रध्यापक संघका अध्यक्ष सन्देशदाश श्रेष्ठ, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका अध्यक्ष डा. निर्मल लामिछाने, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले नीजि क्षेत्रमा गुणस्तरसंगै भौतिक पूर्वाधारमा कलेजले महत्वपूर्ण काम गरेको बताउनुभयो । कलेजका कार्यकारी अध्यक्ष सरोज ढकाल र प्राचार्य नन्दकिसोर भट्टले कलेजका बारेमा जानकारी गराउनुभएको थियो ।
पाँच तले कलेज भवन झण्डै रु ८ करोडमा निर्माण गरिएको हो । करिब ९ कठ्ठा जग्गामा निर्माण गरिएको सो भवन दुईवटा ब्लक रहेको छ । २२ कोठे सो भवनमा अत्याधुनिक प्रविधिको प्रयोगशाला सहित पठनपाठन सुरु गरिने छ । वि.सं. २०६४ सालमा स्थापना भएको कलेजमा हाल स्वास्थ्य शंकायमा प्रविणता प्रमाणपत्र तह र स्नातकको पठनपाठन हुँदै आएको छ । अध्यक्ष ढकालले छिट्टै स्नातकोत्तरको पढाई गरिने बताउनुभयो । कलेजमा ४ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । स्थापना कालदेखि हालसम्म १ हजार ४ सय ६० जना विद्यार्थीले अध्ययन गरिसकेका छन् । जसमध्ये ९ सय जना विद्यार्थी उतिर्ण भई सकेका छन् भने अन्य अध्ययनको क्रममानै रहेका छन् । सुरुवाती समयमा बिपिएच र बि–फार्मेसीको पढाई गरिएकोमा हाल पिबिएनएस, बिएसि नर्सीङ् र पिसिएल नर्सीङसंगै ल्याब टेक्निसियन समेत पढाई हुँदै आएको छ ।
आगामी वर्षमा स्नातकोत्तर तहको अध्ययन समेत सुरु गर्ने गरि काम अघि बढाईएको कलेजका अध्यक्ष ढकालले जानकारी दिनुभयो । सो कलेजको भगिनि संस्थाको रुपमा नेस्नल सिटि हस्पिटल रहेको छ । कलेज अस्पतालको मूख्य सेयर धनी हो । कार्यक्रममा विभिन्न सेमेष्टरमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थी, विभिन्न प्रतियोगितामा बिजेता विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।


























