Breaking News

चितवनका ६ पालिकामा सत्ता गठबन्धनको भागबन्डाः कुन नगरपालिका कसलाई ?

Banner

चितवन,बैशाख ८-

भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रले पाउने गरी टुंगो लागेपछि जिल्लाका अन्य पालिकामा सत्ता गठबन्धनले भागबन्डाको खाका तयार गरेका छन् । बुधबार दिउँसो बसेको सत्ता गठबन्धन आवद्ध दलहरूको बैठकले भरतपुर महानगरबाहेकका ५ नगरपालिका र १ गाउँपालिकाको प्रमुख तथा उपप्रमुखको खाका तयार गरेका छन् । जसअनुसार कांग्रेसले ४ पालिकाको प्रमुख र ३ पालिकाको उपप्रमुख पाउने छ ।

कांग्रेसले रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र कालिका नगरपालिका तथा इच्छाकामना गाउँपालिकाको प्रमुख पाउने मोटामोटी सहमति भएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । यस्तै, माओवादी केन्द्रले भरतपुर महानगरसहित माडी नगरपालिकाको प्रमुख र एकीकृत समाजवादीले राप्ती नगरपालिकाको प्रमुख पाउने छ ।

भरतपुरमा केन्द्रले प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली कांग्रेसले पाउने गरी सहमति भैसकेको छ । कांग्रेसले भरतपुरबाहेक माडी, राप्ती र इच्छाकामनाको उपप्रमुख पाउने छ । यस्तै समाजवादीले रत्ननगरको उपप्रमुख पाउनेछ ।

माओवादीले खैरहनी र कालिका नगरपालिकाको उपमेयर पाउनेछ । कांग्रेसको भागमा परेको कालिका, रत्ननगर र खैरहनी यसअघि एमालेले जितेका पालिका हुन् । इच्छाकामना गाउँपालिकाको उपप्रमुखमा माओवादीले दाबी गरिरहेको छ । तर कांग्रेसले यसअघि गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेकाले केन्द्रीय नीति अनुसार अरुलाई छाड्न नसकिने जनाएको छ ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले इच्छाकामनाको अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले लिने जनाए । उम्मेदवारमा सहमति जुटाएर संयुक्तरुपमा चुनाबी प्रचारमा जाने तयारी छ । बिहीबार पुनः बैठक बसेर पालिकाहरुको भागबन्डालाई औपचारिक रुपमा टुंगो लगाउने कांग्रेस जिल्ला सभापति खनालले जनाए । उनले पालिकाको नेतृत्व टुंगो लगाएपछि वडाहरुमा समेत भागबन्डा गरेर सहमतिमा पुग्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>