Breaking News
सत्तागठबन्धनबीच ६ महानगर र ११ उपमहानगरपालिकमा भागबण्डा (सहमति पत्रसहित)
काठमाडौँ, वैशाख ७–
सत्तारुढ दलहरुले अन्ततः स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरमा सहमति जुटाएका छन् ।
बुधबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच महानगर र उपमहानगरको मेयर र उपमेयरमा लिखित सहमति नै भएको हो ।
सो सहमति अनुसार कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद लिनेछ ।
नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर र ललितपुरको उपमेयर पाउनेछ ।
नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पाउनेछ ।
जनता समाजवादी पार्टीले वीरगञ्जको मेयर र विराटनगरको उपमेयर पाउनेछ ।
उपमहानगरपालिकातर्फ नेपाली कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, धनगढीको मेयर पद लिनेछ भने जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयर लिनेछ ।
नेकपा माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयर पद लिनेछ भने धरान र धनगढीको उपमेयर लिनेछ ।
नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयर पद लिनेछ भने इटहरी, बुटवल र तुलसीपुरको उपमेयर लिनेछ ।
जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको मेयर र कलैया र नेपालगञ्जको उपमेयर लिनेछ ।