चितवन विशेष
नारायणगढको कमलनगर बजारमा सरसफाई अभियान

चितवन, वैशाख ६–
नारायणगढस्थित कमलनगर टोलमा सरसफाई कार्यलाई अभियानकै रुपमा अगाडि बढाईएको छ । कमलनगर बजार व्यवस्थापन समिति र चन्द्रदर्शन सहकारी संस्था लि.को सहकार्यमा कमलनगर सरसफाई अभियान सुरु गरिएको हो ।
मंगलबार विहान ८ बजे सो क्षेत्रमा वृहत रुपमा सरसफाई गरिएको छ । टोललाई सधै सफासुग्घर राख्नका लागि अभियानकै रुपमा सरसफाई कार्यलाई अगाडि बढाईएको कमलनगर बजार व्यवस्थापन समितिका अध्यक्ष शंकरप्रसाद घिमिरेले जानकारी दिए । उनले यस अभियानलाई सहकारीलाई साथमा लिएर निरन्तरता दिने बताए ।
अहिले सो क्षेत्रमा चर्चित होटल ह्याप्पी होम, चन्द्रदर्शन सहकारीलगायतका संस्थाहरु रहेका छन् । टोलमा आउने हरेक पाहुना र ग्राहकहरुले बजारलाई सफा र स्वच्छ देखाउन सरसफाई कार्यलाई उत्साहका साथ लैजाने होटल ह्याप्पी होमका संचालक एवं बजार व्यवस्थान समितिका महासचिव कृष्ण महतोले बताए ।



























