Breaking News
भरतपुरको गठबन्धन मिलाउन देउवाले काँग्रेस चितवनका सभापतिलाई काठमाण्डौं बोलाए

चितवन,बैशाख ६-
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाललाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं बोलाएका छन् । चितवनको भरतपुर महानगरपालिकाको विषयमा रहेको विबादलाई मिलाउनका लागि सभापति देवाउले काठमाण्डौ नै बोलाएका हुन् ।
नेपाली कांग्रेसका एक नेताका अनुसार, खनाल हिजो नै काठमाण्डौँ गएका हुन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) दुबै पार्टीले भरतपुर महानगरपालिकामा प्रमुख पद आफुले पाउनुपर्ने भन्दै अडान कायम राखेका छन् । भरतपुरकै कारण केन्द्रमा गठबन्धन बिच भागबन्डा मिल्न सकेको छैन् । पार्टी सभापति देउवा भरतपुर माओवादीलाई दिने पक्षमा छन् । तर, जिल्लाका नेताहरुले त्यसको बिरोध गर्दै आएका छन् । भरतपुर महानगरपालिकाको विषयमा टुंगो लाग्न नसक्दा जिल्लाका अन्य पालिकाको पनि भागबण्डा मिल्न सकेको छैन् । नेकपा माओवादीले पनि चितवन आफुले पाउनुपर्ने भन्दै प्रधानमन्त्री देउवालाई दवाब दिइरहेको छ ।
सत्तारुढ दलको केन्द्रको निर्णय अनुसार स्थानीय तहले बैशाख पाँच गतेभित्र जिल्लाबाट केन्द्रमा नाम सिफारिस गर्नुपर्ने प्रवधान थियो । तर, विवाद समाधान हुन नसक्दा शक्ति बाडफाडको कुरा टुंगिन सकेको छैन् । यद्यपि महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रले नै टुंगो लगाउने बताएको थियो । तर, स्थानीय नेता कार्यकर्ताको भावना विपरित तालमेल गर्न नहुँने भन्दै कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताले दबाव दिएपछि देउवाले जिल्लाका नेतालाई मिलाउनका लागि काठमाण्डौँमा नै बोलाएका हुन् ।
नेपाली कांग्रेस चितवनले स्थानीय नेता कार्यकर्ताको भावना विपरित केन्द्र सरकारले भरतपुर महानगरपालिका माओवादीलाई दिएमा त्यसपछिको नतिजाको जिम्मेवारी आफुले नलिने बताएको छ । नेपाली कांग्रेसका कार्यकर्ताले पटक पटक माओवादीलाई सहयोग गर्न नसक्ने बताउँदै आएका छन् । अघिल्लो निर्वाचनमा जस्तै यसपटक पनि केन्द्रले दबाव दिएमा भरतपुरमा कांग्रेसको संगठन नै धरापमा पर्ने चितवन काग्रेसको ठहर छ । यसअघि पनि नेपाली कांग्रेसले भरतपुर महानगरपालिकामा माओवादी केन्द्रलाई सहयोग गरेको थियो ।


























