Breaking News
धमाधम पार्टी परित्याग गर्दै भरतपुरका काँग्रेस कार्यकर्ता, भन्छन्ः रुखमा भोट हाल्नै पाइएन

चितवन,बैशाख ४-
मानबहादुर लामाले आफ्नो जिवनको महत्वपुर्ण समय कांग्रेस पार्टी निर्माणमा खर्चिए । भरतपुर महानगरपालिका–११ निवासी लामा क्षेत्रीय सभापतिसम्म बने । तर, आँफैले निर्माण गरेको संगठनलाई चैत्र २७ गते विधिवत रुपमै परित्याग गरि नेकपा (एमाले)मा प्रवेश गरे ।
त्यसको भोलिपल्ट अर्थात चैत्र २८ गते माडी नगरपालिकामा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष कृष्णप्रसाद पौडेलले पार्टी परित्यागको घोषणा गरे । माडी नगरपालिकाका कांग्रेसबाट निर्वाचित एक मात्र वडाध्यक्ष रहेका पौडेलले पार्टी परित्याग गर्नुपर्ने कारण सहितका ४ सय ५ शब्द खर्चिएका छन् । आफ्नो आधिकारीक फेसबुक मार्फत बिपीको प्रजातान्त्रिक समाजबादप्रति उच्च सम्मान हँुदाहुँदै नेपाली कांग्रेस छाड्न परेको उल्लेख गरेका छन् । तर, उनी अहिलेसम्म कुनै पनि पार्टीमा प्रवेशको घोषणा गरेका छैनन् ।
पौडेलले पार्टी परित्याग गरेको एक साता नपुग्दै भरतपुर महानगरपालिका १७ बेलुवाका ५० जना कांग्रेस नेता कार्यकर्ताले समूहिक राजीनामाको घोषणा गरे । पार्टी परित्याग गर्नेमा पूर्व वडाध्यक्ष देवनारायण महतो र पूर्वपार्टी वडा सभापति विष्णुप्रसाद सुवेदी लगायतका पार्टीका क्रियाशिल सदस्य रहेका छन् ।
यसरी नै चितवनमा कांग्रेस पार्टी परित्याग गर्ने क्रम बढिरहेको छ । चैत्र १९ गतेमात्रै भरतपुर महानगरपालिका ११ मा ७३ जना कांग्रेस कार्यकर्ताले पार्टीमा नरहने भन्दै अर्को पार्टीमा प्रवेश गरेका थिए । विशेषगरि पार्टीको केन्द्रीय नेतृत्वले चितवन कांग्रेसलाई माओवादीकरण गरेको भन्दै पार्टी छाड्नेहरु रुष्ट छन् । पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त हुँदै पार्टी गठबन्धनका नाममा माओवादीकरण भएको शनिवार पार्टी परित्याग गर्नेमध्येका एक प्रकाश कंडेल बताउँछन् । उनले काँग्रेस भएपनि बर्षाैदेखि रुखमा भोट हाल्न नपाएको बताए । पार्टीको साधारण सदस्यबाट राजीनामा दिएपनि उनीहरु कुनै पार्टीमा प्रवेश गरेका छैनन् ।
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वले भरतपुर महानगरपालिका नेकपा (माओवादी केन्द्र)लाई दिने चर्चा भएपछि यहाँका कांग्रेस कार्यकर्ता रुष्ट छन् । कांग्रेसको गढ मानिने भरतपुरमा दुई दुई पटक माओवादीलाई समर्थन गर्दा आफ्नो संगठन नै धरापमा पर्ने भन्दै स्थानीय नेता कार्यकर्ता चिन्तित समेत छन् । यसअघिको स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता समेत गराइसकेका हालका कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालालाई एक्कासी नाम फिर्ता गर्न लगाएर कांग्रेसले प्रचण्ड पुत्री रेनु दाहालाई समर्थन गरेको थियो । दुई पार्टीबिच गठबन्धन हुँदा पनि दाहाल २०३ मतको झिनो अन्तरले विजयी भएकी थिईन् । यसपटक पनि कांग्रेसको केन्द्रको नेतृत्वले दाहाललाई नै उठाउने तयारी गरेपछि यहाँका कार्यकर्ता निराश देखिएका छन् ।
गत बुधबारमात्रै महानगरका वडा सभापतिहरुले भरतपुर महानगरको मेयर पार्टीले नपाए २९ वटै वडामा वडाध्यक्ष र सदस्यका स्वतन्त्र उम्मेदवार खडा गर्ने घोषणा गरेका थिए । जिल्ला नेताहरूले शीर्ष नेतालाई भेटेर भरतपुरको मेयर पद नछाड्न दबाब दिँदै आएका छन् । पटक–पटक एउटै व्यक्तिलाई भोट हाल्दा पार्टी कार्यकर्तामा निराशा उत्पन्न हुँदै गएको कांग्रेसका भरतपुर महानगरपालिका– ७ का वडा सभापति विनोद ढकाल बताउँछन् ।
‘अहिलेको गठबन्धनले चितवनको हकमा संगठनलाई धरापमा पार्दै गएको छ । बितिष्णाले गर्दा निर्वाचनको मिति नजिकिँदै लाग्दा पनि कार्यकर्तामा उत्साह छैनन्,’ उनले भने, ‘एकादुई बाहेक पदिय हैसियत भएका व्यक्तिहरु अहिलेसम्म गएका छैनन् अव जान्नन भन्न सकिँदैनन् ।’
कांग्रेसका भरतपुरका मतदाताले २०७४ सालको स्थानीय तहको निर्वाचनमा ‘हसियाँ हतौडा’मा भोट हालेका थिए । त्यसपछि भएको प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाको ‘हलो’ चुनाव चिन्हमा मत दिएका थिए । यसपटक पनि ‘रुख’ चिन्हमा मत हाल्न पाएनन् भने १० बर्षसम्म उनीहरुले अर्काको चुनाव चिन्हमा भोट हाल्नुपर्ने भन्दै आक्रोश व्यक्त गरेका छन् । अब हुने प्रतिनिधि सभाको निर्वाचनमा पनि गठबन्धन गरेर जाने सहमती भएको सत्तारुढ दलले बताउँदै आएका छन् । त्यसो भयो भने, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनको क्षेत्र नम्बर ३ बाट नै उठ्ने देखिन्छ । गठबन्धन भएर प्रचण्ड उठेभने फेरी कांग्रेसले ‘हसिया हतौडा’मा नै भोट हाल्नुपर्ने हुन्छ । पटक–पटक अर्काको पार्टीका एउटै व्यक्तिलाई मत हाल्दा कांग्रेसजनमा बितृष्णा भैसकेको ढकालको भनाई छ । ‘पार्टीको संगठन राम्रो भएको ठाउँमा प्रचण्डका बाबुछोरीलाई भोट हाल्नुपर्ने बाध्यता सृजना हुँदा पटक पटक एउटै व्यक्तिलाई भोट किन दिने भन्ने विषय कांग्रेस कार्यकर्ताले उठाएका छन्,’ उनले भने, ‘चितवनका निष्ठावान कार्यकर्तालाई पिडा छ ।’
सिद्धान्त नमिल्ने पार्टीसंग गठबन्धन गर्दा सफल समेत नहुने उनको भनाई छ । ‘द्धन्द्धकालमा माओवादीले लखेटेर गोरखा, लम्जुङ, तनहुँका मान्छेहरु चितवनमा धेरै आएका छन् । परिवार बिहिन बनाईदिने माओवादीलाई कांग्रेस कार्यकर्ताले कसरी भोट हाल्छन्,’ उनले भने, ‘पार्टी नेतृत्वले भोट हाल्न लगाउँदा उनिहरुलाई यो भन्दा पिडा के हुन्छ ?’
भरतपुरमा माओवादी केन्द्रलाई दिने चर्चा चुलिएसंगै कांग्रेसका नेता कार्यकर्ताले सार्वजनिक रुपमै विरोध गर्दै आएका छन् । कांग्रेसका कार्यकर्ता तथा व्यवसायी सुबोध प्रधानले कांग्रेस बाहेक अरुलाई भोट हाल्न नसकिने तर्क गर्दछन् । ‘कांग्रेसी बाहेक जो कोहिलाई मेयरमा छाड्यो भने स्वतन्त्रबाट मेरो दाबी रहनेछ,’–उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् । चितवनका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले पनि माओवादीलाई पार्टीले समर्थन गरेमा आफ्नो उमेद्वारी हुने सार्वजनिक रुपमै बताउँदै आएका छन् ।


























