चितवन विशेष
भरतपुरमा उज्यालो शहर अभियानः चौविसकोठीमा जडान भयो हाइमास्ट बत्ती

चितवन, वैशाख २–
भरतपुर महानगरपालिकालाई स्मार्ट सिटीको रुपमा अघि बढाउन स्मार्ट सडक बत्ती जडान कार्य सुरुवात भएको छ । भरतपुरको चौविसकोठीमा बिहीबार साँझ हाइमास्ट सडक बत्ती जडान गरेर अभियान थालिएको छ ।
हाइमास्ट भरतपुरको चौविसकोठीसंगै जिल्ला प्रशासन कार्यालय चोक, वीरेन्द्र क्याम्प चोक, शहिदचोक, पुलचोक, पोखरा बसपार्क, दियालो बंगला र मालपोत चोकमा जडान गरिने छ । हाइमास्टको एउटा पोलमा २ सय वाटका ८ वटा लाइट राखिनेछ । त्यसले चोक क्षेत्रमा पुरै उज्यालो छाउने छ ।
नेपाल विद्युत प्राधिकरण तथा भरतपुर महानगरपालिकाको साझेदारीमा स्मार्ट सडक बत्ती जडान अभियान थालिएको हो । यसका लागि सेफ स्टिल/सूर्योदय उर्जा/टपशन जेभीले काम अघि बढाइरहेको छ । स्मार्ट बत्ती जडानका लागि ११ करोड ४९ लाख ८९ हजार ३०० रुपैयाँमा सम्झौता भएको छ । भरतपुरको कुल ७८.१ किलोमिटर क्षेत्रमा १९३३ बत्ती जडान गरिने छ ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकालाई उज्यालोतर्फ लैजान स्मार्ट बत्ती जडान अभियानलाई तिव्रता दिएको बताइन् । उनले भरतपुरलाई स्मार्ट सिटी बनाउने अवधारणना अन्तरगत स्मार्ट लाइट जडान महत्वपूर्ण अंग भएकाले तिव्र रुपमा बत्ती जडान कार्य थालिएको बताइन् ।

























