Breaking News
चितवनमा गठबन्धन बिचको तालमेल अझै अन्योलमै, काँग्रेस फकाउँदै माओवादी केन्द्र

चितवन,बैशाख २-
स्थानीय तहको निर्वाचन हुन २८ दिन मात्र बाँकी छ । देशव्यापी रूपमा सत्ता गठबन्धनका दलहरू मिलेर निर्वाचन लड्ने गृहकार्य गरिरहेका छन् । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृह जिल्ला चितवनमा समेत अन्योलता देखिएको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी) केन्द्रले भरतपुर महानगरपालिका नछाड्ने अडान कायमै राखेका छन् । जसका कारण चितवनमा हुने भनिएको गठबन्धन बिचको तालमेलमा अन्यौल देखिएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल भरतपुर महानगर कांग्रेसले नपाए सत्तारुढ दलबिच तालमेल हुने सम्भावना ५० प्रतिशत मात्रै रहेको बताउँछन् । ‘कांग्रेस गठबन्धनको पक्षमा हो । तर, हाम्रो बटमलाई महानगरको हो । त्यो भयो भने तालमेल शत प्रतिशत हुन्छ,’ खनालले भने, ‘अन्य अवस्थामा ५०/५० प्रतिशत मात्र छ । के हुन्छ थाहा छैन ।’ नेपाली कांग्रेसको केन्द्रीय समितिले माओवादीलाई दिएपनि जिल्ला समितिले गरेको निर्णय नै आधिकारिक रहने उनले बताए ।
सत्तारुढ दलबिचको केन्द्रको निर्णय पहिले जितेको स्थानमा सोही पार्टीलाई टिकट दिने भन्ने छ । त्यसो हुँदा महानगर नेकपा माओवादीको भागमा पर्छ । तर, कांग्रेसले आफ्नो उर्भर भूमि भन्ने भतरपुर महानगरपालिका छाड्न नहुने पक्षमा केन्द्रीय नेता समेत छन् । केन्द्रीय सदस्य दिनेश कोइराला भरतपुर नेपाली कांग्रेसले नै पाउनुपर्ने धारणा राख्छन् । ‘हरेक दृष्टिकोणबाट विश्लेषण गर्दा भरतपुर महानगर कांग्रेसले पाउनुपछर्’, उनले भने ‘केन्द्रीय समितिले पनि स्थानीय जनताको भावना अनुसार निर्णय गर्छ ।’
नेपाली कांग्रेस भित्र गठबन्धनको पक्ष र विपक्ष छ । त्यसलाई मध्यनजर गर्दै कांग्रेसको केन्द्रीय समितिले स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न सक्ने निर्णय गरेको छ । तर, महानगरपालिकाको हकमा भने केन्द्रले नै निर्णय गर्नेछ । जसले गर्दा यहाँ माओवादीले पाउने चर्चा भैरहेको छ । तर, केन्द्रले पनि स्थानीय जनताको भावना अनुसार निर्णय गर्ने कोइरालाको विश्वास छ । ‘स्थानीय अवस्था, औचित्य आवश्यकता आधारमा निर्णय गर्ने हो,’ उनले भने, ‘सोही अनुसार केन्द्रले स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय गरेको छ ।’
नेकपा (माओवादी केन्द्र) चितवनका संयोजक रामचन्द्र अधिकारी भरतपुर महानगरपालिका आफ्नो भागमा पर्ने दाबी गर्दछन् । ‘सत्तारुढ दलबिचको निर्णय अनुसार भरतपुर महानगरपालिका हाम्रो भागमा पर्दछ,’ उनले भने, ‘जिल्लाको गठबन्धन पनि सोही अनुसार अगाडी बढ्छ ।’
नेपाली कांग्रेसका वडाध्यक्षले समेत महानगर आफुहरुले पाउनुपर्ने भन्दै जिल्लामा ज्ञापनपत्र समेत बुझाएका छन् । जिल्लाका नेताले राजधानी गएर पार्टीका शिर्ष नेतालाई समेत आफ्नो धारणा राखेका छन् । यसरी कांग्रेस र माओवादीमा देखिएको विबादका कारण जिल्लामा हुने भनिएको सत्तारुढ गठबन्धन बिचको तालमेल नै अन्यौलमा देखिएको छ । तर, जिल्लामा तालमेल हुनेमा आफुहरु विश्वस्त रहेको अधिकारी बताउँछन् । ‘जिल्लामा एक किसिमको तालमेल हुने सहमति भैसकेको छ । शुक्रवार साढे पाँच बजे गठबन्धन बिचको बैठक बस्दै छ ।’ उनले भने, ‘ठोस निर्णय गरेर अगाडी बढ्छौँ ।’
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)ले बैशाख पाँच गतेभित्र उमेद्वार छनोट गरेर केन्द्रमा सिफारिस गर्न जिल्लालाई निर्देशन दिएको छ । तर, भरतपुर कस्ले लिने भन्ने बिषय टुंगो लाग्न नसक्दा अन्य पालिकाको विषयमा प्रबेश समेत हुन नसकेको नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) चितवनका अध्यक्ष डा. कृष्णहरी पन्तले जानकारी दिए । राजनितीक हैसियतका रुपमा सत्तारुढ गठबन्धन बिच भागबन्डा हुनुपर्ने पन्तले बताए ।
सात स्थानीय तह रहेको चितवनमा महानगरपालिका र गाउँपालिका एक÷एक र नगरपालिका ५ वटा रहेका छन् । त्यसमध्ये अघिल्लो निर्वाचनमा कांग्रेसकै सहयोगमा नेकपा (माओवादी केन्द्र)की उमेद्वार रेनु दाहालले झिनो मतले निर्वाचन जितेकी थिइन् । अहिलेपनि माओवादीले दाहाललाई अघि सारेको छ । यस्तो अवस्थामा चितवन कांग्रेस, केन्द्रको निर्णय मान्नैपर्ने बाध्यताबाहेक गठबन्धनको पक्षमा देखिँदैन ।

























