चितवन विशेष
एक रुपैयाँ पनि घुस नचल्ने,जनताले सेवा लिन कुर्नु नपर्ने महानगर बनाउँछु-बिजय सुवेदी

चितवन,बैशाख २-
भरतपुर महानगरपालिकामा नेकपा (एमाले)का तर्फबाट मेयर पदको उम्मेदवार बनेका नेता विजय सुवेदीले गुरुयोजना सहितको संमृद्ध भरतपुरको आफुले परिकल्पना गरेको बताउनुभएको छ । भरतपुर १२ वडा कमिटीले आज (शुक्रबार) आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले सुशासन सहितको संमृद्ध महानगर आफ्नो एजेण्डा रहेको बताउनुभयो ।
उहाँले महानगरको एकीकृत गुरुयोजना सहित सर्वाङ्गिण बिकास गर्न आफू मेयरको उमेदवार बनेको स्पष्ट पार्नुभयो । “मैले ५५ बर्षको उमेरमा मृत्युु पर्यन्त शरिरका सबै अङ्ग प्रयोग गर्नु भनी दान गरिसकेको छु, अबको उमेर र समय भरतपुरलाई संसारकै हेर्न लायक महानगर बनाउन लाग्नेछु ” सुवेदीले भन्नुभयो ।
मेरो नेतृत्वमा बनेको चितवन उपत्यका गुरुयोजना, स्वास्थ्य रणनीति र ब्यवस्थित बिकासका कार्यक्रम कार्यान्वयन गर्न आफुलाई हुट्हुटी रहेको सुवेदीले बताउनुभयो । यहाँको जमिन, पानी , पर्यावरण सबैकुरालाई ब्यवस्थित गरेर प्रकृतिक ऐश्वर्य भएको महानगर बनाउने योजना आफुसंग रहेको उहाँले बताउनुभयो । सुशासन आफ्नो प्राथमिकतामा रहेको बताउदै उहाँले एक रुपैयाँ पनि घुस र भ्रष्टाचार हुन नदिने एवम् जनताले सेवा पाउन कुर्न नपर्ने अवस्था सिर्जना गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
गरिबीलाई हटाउन गाँस,बास,स्वास्थ्य,शिक्षा र रोजगारी जस्ता कुराको ग्यारेन्टी गरिने प्रतिवद्धता राख्दै उहाँले आफू झुठो आश्वासन बाड्ने पक्षमा कहिल्यै नहुने बताउनुभयो । “हामी गर्छाैं , हामी साच्चिकै जनताको सेवा गर्न महानगरको अगुवाइ गर्न चाहिरहेका छौं । मेयरको रुपमा निष्पक्ष सक्रियतामा हामी जुट्नेछौ । ” सुवेदीले भन्नुभयो ।
पार्टी वडा कमिटीका अध्यक्ष तिलप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा एमाले पोलिट्व्युरो सदस्य देवीप्रसाद ज्ञवाली, प्रदेशकमिटि सदस्य मंगलराम दराईले शुभकामना मन्तव्य राख्नुभयो ।

























