चितवन विशेष
राजनीतिमा चम्किएकी ‘तारा’को भरतपुर महानगरको उप–प्रमुखमा दावी

चितवन, चैत २८–
स्थानीय तहको निर्वाचनको मिति नजिकदै गर्दा आकांक्षीहरु खुल्ने क्रम बढ्दै गएको छ ।
नेपाली कांग्रेस चितवनले सबै पालिकाहरुमा आकांक्षीहरुलाई आफ्नो दावेदारी प्रस्तुत गर्न आग्रह गर्दा भरतपुर महानगरपालिकामा दुई दिनमा ४९ जनाले आकांक्षा राखेका छन् । जसमध्ये भरतपुरको उपप्रमुखमा २४ जनाले इच्छा जोहर गरेका छन् । जसमध्यकी एक हुन महिला नेतृ तारा गुरुङ । सामाजिक अभियानसहित राजनीतिमा चम्किलो ताराका रुपमा चिनिएकी गुरुङको आकांक्षालाई पार्टीको नेताहरुले संभावित उम्मेद्वारको रुपमा हेरेका छन् । गुरुङ राजनीति, सहकारी आन्दोलन र समाजसेवाको क्षेत्रमा लोकप्रिय छिन् ।
काँग्रेसको बागमती प्रदेश समितिको कार्यसम्पादन समितिकी सदस्य उनी कांग्रेस जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिको रुपमा सर्वाधिक मतका साथ जितेकी हुन् ।
२०५३ सालदेखी नेपाली कांग्रेसको सदस्यता लिएर काँग्रेसको राजनीति सुरु गरेकी गुरुङ नेपाल महिला संघ चितवनको सचिव पनि हुन् । २५ वर्षे राजनैतिक यात्राका क्रममा विभिन्न रुपले काँग्रेस भित्र र सामाजिक क्षेत्रमा नेतृत्वको जिम्मेवारी समालेकी छन् । उनी राष्ट्रिय सहकारी बैंकको केन्द्रीय लेखा समिति सदस्य, नेपाल बहुउद्देस्यीय सहकारी संघको केन्द्रीय संचालक, नेशनल कोअपरेटिप एलाईन्सको केन्द्रीय सदस्य रहेकी गुरुङ शारदानगर जेसिजको पूवै अध्यक्ष हुन् ।
२४ भन्दा बढी देशहरुको भ्रमणको अनुभव संगालेकी गुरुङ पछिल्लो समय काँग्रेस राजनीतिलाई प्राथमिकता दिएर लागि परेकी छिन् । भरतपुर महानगरपालिका वडा नम्वर १९ की गुरुङ पार्टी भित्रको लगानी र मेहनत तथा सामाजिक जीवनको जनप्रिय सक्रियताका आधारमा उप–प्रमुख पदमा दावी गरेको बताइन् । विपन्न, युवा, महिला र जेष्ठ नागरिकका साथै बालबालिकाहरुको क्षेत्रमा परिवर्तन गर्ने हिसाबले काम गरेर देखाउने उनको भनाई छ ।
नेपालको मध्य भागमा रहेको भरतपुर महानगरपालिकालाई देशकै नमुना र उत्कृष्ट महानगर बनाउने गरी दिर्घकालीन सोच सहितको योजना बनाएको उनले बताइन् । ‘राजनीति व्यापार र जागिर नभइ विशुद्ध जनताको सेवा गर्ने अवसर हो, त्यसैले म मेरो समाज सुधार र परिवर्तन गर्ने सोचलार्इ पुरा गर्न प्रत्यक्ष राजीनिमा होमिएकी छु’ उनले भनिन् ।


























