Breaking News
प्रधानमन्त्रीसंग चितवन र पश्चिमको रंगशालालाई पूर्णता दिने सैद्धान्तिक सहमति भएको छः प्रचण्ड

चितवन, चैत २६–
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले पूर्णता दिने बताएका छन् ।
आज (शनिबार) सम्पन्न प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथनका विजेताहरुलाई पुरस्कार वितरण गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासंग चितवनको रंगशाला र पश्चिममा एक रंगशालालाई पूर्णता दिने विषयमा सैद्धान्तिक सहमति भएको बताएका हुन् । उनले पछिल्लो समय चितवन खेलकुदको हब बन्दै गइरहेको भन्दै भौतिक पूर्वाधारहरु समेत निर्माण हुने क्रम बढेको बताए ।
खेलाडीको उर्वर भूमि चितवन रहेको भन्दै चितवनलाई खेलकुद पर्यटनको रुपमा विकास गर्नुपर्ने बताए । अध्यक्ष दाहालले विश्व फेरि एकपटक साइक्लिङमा फर्किएको भन्दै नेपालमा आर्थिक उपार्जन र खेलकुदको रुपमा साइक्लिङलाई अघि बढाइने बताए । उनले साइक्लिङले स्वास्थ्य र पर्यावरण जोगाउने भएकाले यसको प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । अध्यक्ष दाहालले साइक्लिङका विजेता तथा उपविजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए ।


























