Breaking News

चितवनको कालिका नगरपालिकामा गठबन्धन भर्सेज एमाले, कसको प्रभाव कति (२०७४ को मतसहित)

Banner

चितवन,चैत २४-

२०७४ सालको स्थानीय तहको निर्वाचन कालिका नगरपालिकामा निकै पेचिलो बनेको थियो । नेकपा (एमाले)का खुमनारायण श्रेष्ठ (गोपी)ले नेपाली कांग्रेसका कमलप्रसाद आचार्यलाई ३२८ मतको झिनो अन्तरले पराजित गरेका थिए ।

दलीयरूपमा सबैभन्दा बढी वडा जितेको नेकपा एमालेले प्रमुख र उपप्रमुख पद पनि जितेको थियो । कालिकामा ११ वडामध्ये ६ वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष जितेका थिए । एमालेलाई पछ्याएको कांग्रेसले ५ वटामा वडाध्यक्ष जितेको थियो । तेस्रो शक्तिको रुपमा उदाएको माओवादीले एक सदस्य पद पनि जित्न सकेन । अन्य पार्टीको मत झिनो छ । चौथो शक्तिको रुपमा रहेको नयाँ शक्ति पार्टीको मेयर पदमा १८७ मत आएको थियो ।

कालिकामा विगत देखिनै एमाले र कांग्रेसको प्रतिस्पर्धा हुँदै आएको छ । त्यसमा सत्तारुढ दलहरुबीच गठबन्धन हुँदा एमालेलाई आफ्नो विरासत जोगाउन भने त्यति सजिलो छैन । कांग्रेसका निर्वतमान सभापति जीतनारायण श्रेष्ठ पनि सोही नगरपालिकाका हुन् । अर्को तर्फ नेकपा (माओवादी केन्द्र)को पनि निर्णाय भोट रहेको देखिन्छ । त्यसले विगतको विरासत जोगाउन एमालेलाई त्यति सजिलो छैन ।

यद्यपि एमालेमा कालिकामा अन्यन्त्र जस्तो फुटको असर देखिँदैन । एक जना जनप्रतिनिधि पनि (एकीकृत समाजवादी)मा लागेका छैनन् । यसले एमालेलाई केही राहत महशुस गर्नेछ । एमालेका लागि कालिकामा सबैभन्दा ठूलो खतरा भनेको सत्तारुढ दलहरूको गठबन्धन नै हो । त्यो गठबन्धन बनेको अवस्थामा नयाँ थपिएका मतदाताको बहुँसंख्यक मत पनि एमालेले तान्नुपर्ने देखिन्छ । नभए विगतको बिरासत जोगाउन कठिन हुन सक्छ ।

कालिकामा कांग्रेसलाई पनि कम आंकलन गर्न सकिँदैन । अघिल्लो निर्वाचनमा कांग्रेसका उमेद्वार कमलप्रसाद आचार्यले ७ हजार १६४ मत ल्याएका थिए । उनले त्यहाँ लोकप्रिय मत समेत पाएको देखिन्छ । कांग्रेसकाबाट उमेद्वार दिएका वडाध्यक्षको भन्दा ३४० मत बढी ल्याएका थिए । कांग्रेसका वडाध्यक्षहरुको समग्र मत ६ हजार ८२४ रहेको छ । त्यो त कांग्रेसबाट उपप्रमुखमा उमेद्वारी दिएकी निरुजा श्रेष्ठको मत पनि ६ हजार ७५० छ । यसरी हेर्दा त्यहाँ कांग्रेसको मत ७ हजार भन्दा तलै रहेको अनुमान गर्न सकिन्छ ।

एमालेका खुमनाराय श्रेष्ठले ७ हजार ४९२ भोट प्राप्त गरेका थिए । एमालेका वडाध्यक्षहरुको समग्र जोड्दा पनि खासै फरक छैन । त्यहाँ एमालेका वडाध्यक्षहरुको ७ हजार ४५५ मत रहेको थियो । यसरी हेर्दा कालिकामा एमाले बलियो नै छ । तर, माओवादीको भोट पनि गठबन्धनमा जोडिन पुग्छ । अघिल्लो निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उमेद्वार रामध्वज डल्लाकोटीले २ हजार ३७८ मत ल्याएका थिए ।

उप–प्रमुखमा एमालेकै कमला भट्टराई ७ हजार ५३५ मत ल्याएर विजयी भएकी थिईन् । दोस्रोमा कांग्रेसकी उमेद्वार ६ हजार ७५०, तेस्रोमा नेकपा (माओवादी केन्द्र)की सविता लामाले २ हजार ५९३ मत प्राप्त गरेकी थिईन् ।

प्रमुख र उप–प्रमुख जितेको एमालेले २, ३, ६, ७, ८, र ११ नम्बर वडा गरि ६ वटा वडा जितेको थियो । प्रमुख र उप–प्रमुखमा पराजित भएको नेपाली कांग्रेसले १, ४, ५, ९ र १० वडा गरि ५ वडा जितेको थियो । कालिकामा माओवादीले एक जना वडा सदस्य पनि जित्न सकेको थिएनन् ।

कालिकामा मेयर पदमा ९ जनाको प्रतिस्पर्धा भएको थियो । जसमा नयाँ शक्ति चौथो स्थानमा छ । यद्यपि उसको झिनो मत देखिन्छ । मेयरमा जम्मा १८७ मत मात्र आएको थियो । नेपाली कांग्रेस र माओवादीले ल्याएको मत मात्र ९ हजार ५४२ रहेको छ । राष्ट्रिय जनमोर्चा, संघिय समाजबादी, नेकपा (एकीकृत समाजवादी)को केही मत जोडिँदा गठबन्धन अझ बलियो हुन जान्छ ।

हालका प्रमुख र उप्रमुख एमालेकै भएकाले उनीहरुको प्रभाव भने एमालेमा देखिन सक्छ । अहिले कालिकामा भएको विकास निर्माणका कामले एमालेको राम्रो छाप परेको छ । त्यसो त एमालेबाट निर्वाचित भएका सांसद कृष्णभक्त पोख्रेल र एमाले उपाध्यक्ष रामबहादुर थापाको प्रभाव पनि त्यस क्षेत्रमा राम्रै छ । त्यसको असर गठबन्धनलाई नपर्ला भन्न सकिँदैन ।

अघिल्लो स्थानीय तहको निर्वाचनलाई हेर्दा कालिकामा सत्तारुढ दल भित्रबाट कांग्रेसले टिकट पाउने देखिन्छ । यसरी हेर्दा यहाँ कांग्रेस र एमाले बिच नै प्रतिस्पर्धा हुने देखिन्छ । तर, कांग्रेस र कम्युनिष्टमा सिद्धान्त नै फरक भएकाले गठबन्धनमा पूरै भोट नखस्न पनि सक्छ । त्यसको फाइदा एमालेले लिन सक्यो र नयाँ मतदातालाई आफुतिर प्रभावित पार्न सक्यो भने एमालेले बाजि मार्ने पनि देखिन्छ ।

कालिका नगरपालिकामा यहाँ २७ प्रतिशतले मतदाता थपिएका छन् । पहाडी क्षेत्रसमेत रहेको कालिकामा पाँच बर्षको अवधिमा ८ हजार १७० मतदाता थपिएका छन् । २०७४को निर्वाचनमा २२ हजार ९८७ मतदाता रहेको जिल्लामा अहिले ३१ हजार १५७ पुगेका छन् ।

यसरी हेर्दा निर्वाचन कस्ले जित्छ भन्ने एकीन भन्न सकिँदैन । पूराना मतदाताले सधै एउटै चिन्हमा मतदान गर्छन् भन्ने हुँदैन । व्यक्ति हेरेर भोट हाल्नेको संख्या पनि धेरै नै हुन्छ । समग्रमा हेर्दा कालिकामा नया मतदाता नै निर्णायक देखिएका छन् । उनिहरुलाई जस्ले प्रभावित पार्न सक्छ उसले नै जित नाकाल्न सक्ने समेत देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>