Breaking News

सत्तारुढ गठबन्धनः भरतपुरको मेयरमा रस्साकस्सी, कांग्रेस र माओवादी आ–आफ्नै अडानमा

Banner

चितवन, चैत २१–

सत्तारुढ गठबन्धनका दलहरु स्थानीय निर्वाचनसम्मै गठबन्धन गरेर अघि बढ्ने निश्कर्षमा पुगेपछि अहिले जिल्लास्तरमा गठबन्धनलाई मजबुत बनाउन कसरत सुरु भएको छ ।

गठबन्धनलाई जोगाउनका लागि सबै जिल्लाहरुमा नेपाली कांग्रेसको नेतृत्वमा गठन्धनका दलहरुबीच बैठक भइरहेका छन् । यसैक्रममा चितवनमा पनि सोमबार गठबन्धनमा आवद्ध दलहरुको बैठक सम्पन्न भएको छ । बैठकले गठबन्धनलाई मजबुत बनाएर लैजाने निर्णय गरेको छ । बैठकले जिल्लाका ७ वटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गर्ने निर्णय गरेपछि गठबन्धनमै अघि बढ्ने लगभग सहमित देखिन्छ । तर मुख्यतः दुई पार्टी नेपाली कांग्रेस र नेकपा (माओवादी) केन्द्रको आ–आफ्नै दावीका कारण गठबन्धन मजुबत हुनेमा आशंका पनि उब्जिएको छ ।

मूख्यगरि भरतपुर महानगरपालिकामा नेतृत्व दावी गर्दै चितवनमा गठबन्धनका दलहरुबीच रस्साकस्सी चलिरहेको छ । कांग्रेसले महानगरको प्रमुख आफूले पाउनुपर्ने बटमलाइन राखेको छ । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले महानगरको प्रमुख नै पार्टीको बटमलाइन रहेको बताए । ‘हामी हिजो मात्रै जिल्लाको बैठक बसेर महानगरमा नेतृत्व गरेर अघि बढ्ने निर्णय गरेका छौं, यसबाट हामी पछि हट्दैनौं, महानगरको प्रमुख कांग्रेसले नपाए एक्लै चुनाव लड्न सक्ने विकल्प हामीसंग छ’–सभापति खनालले भने ।

उनले केन्द्रको सर्कुलेसन अनुसार आज गठबन्धनमा आवद्ध दलहरुबीच बैठक बसेको भन्दै अझै गम्भिर भएर छलफल गर्न बाँकी रहेको बताए । उनले भरतपुरको मेयर छाडेर कांग्रेसले तालमेर गरेर अघि बढ्न नसक्ने दोहोराए । ‘पहिलो चरणमा गठबन्धनमा आवद्ध दलहरुले आ–आफ्ना दलको धारणा राख्यौं, मैले हिजोको कांग्रेसको निर्णय सुनाए, सोही निर्णय केन्द्रमा पठाउँछौं भनेको छु, बाँकी केन्द्रको निर्णय के आउँछ हामी हेर्छौ’–सभापति खनालले भने ।

हिजो कांग्रेसले भरतपुरको मेयर पद लिए मात्रै गठबन्धन गर्न सक्ने निर्णय गरेपछि आज नै गठबन्धनमा आवद्ध दलहरु सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेपछि कांग्रेस कार्यकर्ताहरुमा फेरि अन्यौलता छाएको छ । कतै मेयर पद पुनः माओवादीलाई दिने अवस्था आएको त छैन भन्दै कार्यकर्ताहरुले प्रश्न गर्न थालेको छ । यसको जवाफ दिँदै खनालले भने–‘हामी भरतपुरको मेयर पद लिएर गठबन्धन गर्छौ भनेका हौं, मेयर लिएर गठबन्धन गर्न त मिल्छ हो, मेयर नपाए त हामी एक्लै चुनाव लड्ने विकल्प छदै छ ।’

स्थानीय कांग्रेसका नेता तथा कार्यकर्ताहरु यसपटक कुनै पनि हालतमा कांग्रेस बाहेकका उम्मेद्वारलाई भोट नदिने भन्दै जिल्लास्तरका नेताहरुलाई दवाब दिदै आइरहेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेनु दाहाललाई मत हालेर जिताएको थियो । सोही कारण यसपटक कांग्रेसले मेयर आफूले पाउनुपर्ने दावी गर्दै आइरहेको छ । तर माओवादी केन्द्रले पुनः महानगरको मेयरमा दाहाललाई नै दोहोराउने तयारी छ । त्यसका लागि माओवादीले भरतपुर महानगर पाउनु पर्ने अडान राखेको छ ।

माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले भरतपुर महानगरपालिकाको नेतृत्वमा माओवादीको स्वभाविक दावी रहेको बताए । ‘भरतपुर महानगरपालिकाको नेतृत्व माओवादीले नै गर्छ भन्ने हामीलाई विश्वास छ, भरतपुर माओवादी केन्द्रको प्रतिष्ठाको विषय पनि हो, चासोको विषय पनि हो नेतृत्व गर्ने कुरा पनि हो ।’ गठबन्धनका अन्य दलले भने मेयरमा दावी गरेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>