Breaking News

टि–२० ट्राई सिरिजको उपाधि नेपाललाई, पीएनजी ५० रनले पराजित

Banner

काठमाडौँ, चैत २१–

नेपालले घरेलु मैदानमा भएको टि–२० ट्राइ सिरिजको उपाधि जितेको छ । आज किर्तिपुरमा भएको फाइनलमा पपुवा न्यूगिनी (पीएनजी)लाई ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

उपाधिका लागि नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा ११८ रनमै अलआउट भएपछि नेपालले सहज ढंगले उपाधि जित्न सफल भएको हो ।

पीएनजीका लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए । चार्लस् अमिनीले १५ रन बनाए भने अन्य व्याटरले दोहोरो अंक छुन सकेनन् । पीएनजीलाई सस्तैमा समेट्ने क्रममा दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा १८ रन खर्चिदै ४ विकेट लिए । करन केसीले ३ ओभरमा २७ रन खर्चिदै ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चिदै २ विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले दीपेन्द्र सिंह ऐरीको अर्धशतकको मद्धतमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो । दीपेन्द्रले ३८ बलमा ५ चौकाको मद्धतमा नटआउट ५४ रन बनाए । करन केसीले १२ बलमा एक छक्का र ५ चौकाको मद्धतमा ३३ रनमा अविजित रहे । ओपन आशिफ शेखले २९ र कुशल भुर्तेलले २५ रन बनाए । आरिफ शेख र दिलीप नाथ शून्यमा आउट भए भने आदिल आलमले १५ र रोहित पौडेलले २ रन बनाए ।

पीएनजीका लागि सेमो कमियाले ३ विकेट लिए भने चाड सोपर, काबुआ मोरिया र रिले हेकुरेले एक÷एक विकेट लिए । प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि उचालेको हो । पीएनजी समान अंक भए पनि रनरेटमा मलेसियालाई पछि पार्दै फाइनल पुगेको थियो । पीएनजीसंगको एक दिवसीय सिरिजमा भने नेपाल क्लिन स्वीप भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>