Breaking News

महिला लिगः विभागीय टोली एपीएफ र आर्मीको फराकिलो जित

Banner

चितवन, चैत १९–

चितवनको भरतपुरमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टोली एपीएफ फुटबल क्लवले फराकिलो जित हात पारेको छ । आज (शनिबार)को पहिलो खेलमा एपीएफले चन्द्रपुरलाई ८–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

एपीएफको जितमा सावित्रा भण्डारी ‘साम्बा’ले हृयाट्रिक गरिन् । मञ्जली कुमारी योञ्जनले २ तथा अनिता केसी, अनिता बस्नेत र अनु लामाले समान एक–एक गोल गरे । खेलको पहिलो हाफमै एपीएफले चन्द्रपुरको पोष्टमा ५ गोल गर्‍यो । खेलको चौथो मिनेटमै अनिता केसीले गोल गर्दै एपीएफलाई अग्रता दिलाईन् ।
१५औं मिनेटमा मञ्जलीले एपीएफलाई दोहोरो अग्रता दिलाईन् । लगत्तै १६औं मिनेटमा अनिता बस्नेतले एपीएफका लागि तेस्रो गोल गरिन् । २३औं मिनेटमा साम्बाले गोल गर्दै एपीएफको अग्रता लम्बाईन् । ३२ औं मिनेटमा मञ्जलीले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा एपिएफले ५–० को अग्रता लियो ।

खेलको ४९औं मिनेटमा ‘साम्बा’ले व्यक्तिगत दोस्रो गोल गरेपछि एपीएफले ६–० को अग्रता लियो । ७०औं मिनेटमा अनुले गोल गर्दै एपीएफलाई ७–० को अग्रता दिलाईन् । ८१औं मिनेटमा चन्द्रपुरले गोल फर्कायो । चन्द्रपुरकी मिडफिल्डर सुमित्राले अगाडि बढेकी एपीएफकी गोलकिपर सावित्री किसानलाई बिट गर्दै गोल गरिन् । ९०औं मिनेटमा साम्बाले हृयाट्रिक गरेपछि एपीएफ ८–१ को फराकिलो अन्तरले विजयी भयो । खेलको प्लेयर अफ दि म्याच एपीएफकी रेनुका नगरकोटी भईन् ।

यो जितसँगै एपीएफ चार खेलबाट १२ अंक बटुल्दै लिग तालिकाको शीर्ष स्थानमा फर्किएको छ । समान खेल खेलेको चन्द्रपुर एक अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

यस्तै आजको दोस्रो खेलमा रश्मी घिसिङले हृयाट्रिक गरेपछि त्रिभुवन आर्मी फुटबल क्लबले महत्वपूर्ण ३ अंक बटुलेको छ । आर्मीले धनगढीलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्‍यो । एकतर्फी खेलमा आर्मीलाई फराकिलो जित दिलाउन रश्मीले हृयाट्रिकसँगै विमला चौधरी, अमिशा कार्की र कुशुम खतिवडाले समान एक–एक गोल गरे ।

खेलको ३५औं मिनेटमा आर्मीले पेनाल्टी पायो । धनगढीकी डिफेन्डर निलम सिंहले डिबक्स भित्र ह्याण्ड गरेपछि रेफ्रीले आर्मीलाई पेनाल्टी दिएका थिए । प्राप्त अवसरलाई सदुपयोग गर्दै रश्मीले बललाई जाली चुमाईन् । पहिलो हाफको अन्तिम मिनेटमा विमला चौधरीले गोल गर्दै आर्मीलाई दोहोरो अग्रता दिलाईन् । पहिलो हाफमा नै थप गरिएको अतिरिक्त समयमा रश्मीले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ३–० को अग्रता लियो ।

५८औं मिनेटमा आर्मीकी रश्मीले हृयाट्रिक पूरा गरिन् । ८१औं मिनेटमा अमिशाले गोल गर्दै आर्मीको अग्रता लम्बाईन् । ८८औं मिनेटमा कुशुमले गोल गर्दै आर्मीलाई ६–० को जित दिलाइन् । आर्मीकी रश्मी प्लेयर अफ दि म्याच भईन् ।

यो जितपछि आर्मी ४ खेलबाट ६ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको धनगढी भने शीर्षबाट दोस्रो स्थानमा झरेको छ । जारी लिगमा धनगढीको यो पहिलो हार हो । धनगढीको ४ खेलबाट ९ अंक भएको छ ।

लिगमा आइतबार पनि दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ः१५ बजे नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाबीच हुनेछ । यस्तै दिउँसो ४ः१५ बजे विराटनगर र ललितपुरबीच हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>