चितवन विशेष
भरतपुर-११ गणेशस्थानका ७३ जना काँग्रेस माओवादी परित्याग गरी एमाले प्रवेश

चितवन,चैत १०-
भरतपुर महानगरपालिका–११ को गणेशस्थानका ७३ जना नेकपा (एमाले) प्रवेश गरेका छन् । काँग्रेस र माओवादी केन्द्र परित्याग गरी उनिहरु एमाले प्रवेश गरेका हुन् ।
गणेशधाममा आज (शनिवार) आयोजित कार्यक्रम मार्फत एमाले पोलिटव्यूरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले उनिहरुलाई टिका र खादा लगाएर एमाले प्रवेश गराउनुभएको हो ।
मनोज रानामगरको नेतृत्वमा काँग्रेस र माओवादी केन्द्र परित्याग गरी ७३ जना एमाले प्रवेश गरेको एमाले भरतपुर–११ वडा कमिटीका अध्यक्ष प्रकाश आचार्यले जानकारी दिनुभयो । उहाँले वडामा पार्टी प्रवेश गर्नेको लहर चलेको भन्दै अझै ठूलो संख्यामा प्रवेशको तयारी भइरहेको बताउनुभयो । केही दिन अघि मात्र भरतपुर ११ कै लामा टोलबाट ठूलो संख्यामा काँग्रेस परित्याग गरी एमाले प्रवेश गरेको थिए ।

सो कार्यक्रममा बोल्दै एमाले पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले देशैभर एमालेको पक्षमा जनलहर सृजना भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘एमाले जनताको मनमा बसेको पार्टी हो, यसकारण चितवनसहित देशैभर प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ ।’ उहाँले चितवनमा सुकुम्बासीलाई लालपूर्जा दिने भन्दै भ्रम सृजना गरिएको बताउनुभयो । आफु आयोगको अध्यक्ष हुँदा भएका कामको निरन्तरता मात्रै रहेको भन्दै निस्सा बाँडेर लालपुर्जा बाँडेको भन्ने अफबाह फैलाइएको बताउनुभयो ।
सो कार्यक्रममा लिला कार्कीको अध्यक्षतामा २५ सदस्सीय टोलकमिटी गठन भएको छ भने टोलमा अनेमासंघ गठन गरिएको छ ।
यस्तै उत्तम भुजेलको अध्यक्षतामा युवा संघ टोल कमिटी र मनोज रानामगरको अध्यक्षतामा युथफोर्स गठन गरिएको युवा संघ चितवनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल, बागमती प्रदेश कमिटी सदस्य सारदा कुमाल, जिल्ला सदस्य एवं वडा अध्यक्ष बाबुराम अधिकारी,जिल्ला कमिटी सदस्य अनोज जोशी, नेता रबिन्द्र बराल, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सुशिल केसी लगायतको उपस्थिति रहेको थियो ।
यस्तै टोल सल्लाहाकार कमिटी गठन र ७० बर्ष काटेका टोलबासीलाई सम्मान समेत गरिएको कार्यक्रमको अध्यक्षता गर्नुभएका पार्टी वडा सदस्य रेशम सापकोटाले जानकारी दिनुभयो । उहाँले अधिकांस महिलाहरुको प्रतिनिधित्व रहनेगरी टोल कमिटी गठन गरिएको बताउनुभयो । उहाँले टोलमा पार्टी र जनवर्गीय संगठनलाई मजबुत बनाउन थप कार्यक्रमहरु गरिने जानकारी दिनुभयो ।



























