Breaking News

भरतपुर मेयर कपको उपाधि मकवानपुरलाई

Banner

चितवन, चैत १७–

‘भरतपुर मेयर कप’ एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुरले जितेको छ ।

रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज (बिहीबार) भएको फाइनल खेलमा नवलपुरलाई १७४ रनको फराकिलो अन्तरले पराजित गर्दै मकवानपुरले उपाधि जितेको हो । उपाधिसंगै मकवानपुरले ५० हजार, ट्रफी र मेडल प्राप्त गरेको छ ।

उपविजेतामा चित्त बुझाएको नवलपुरले २० हजार र मेडल प्राप्त गरेको छ । विजेता र उपविजेता टोलीलाई समापन कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र पौडेल र विशिष्ट अतिथि खेलकुद शाखाका प्रमुख शिवप्रसाद ढुंगानाले पुरस्कार प्रदान गरेका थिए ।

टस जितेर पहिले व्याटिङ गरेको मकवानपुरले ४० ओभरमा अलआउट हुँदै २२५ रन बनाएको थियो । उसका लागि विशाल फुयाँलले ६९, सुव कशंकारले ४३, आकाश घिमिरेले २४ र गौरव खड्काले २० रन बनाए ।

नवलपुरका लागि कमल परियारले १० ओभरमा ४९ रन खर्चिदै ६ विकेट लिए । विशाल पौडेल, अप्रजित पौडेल, रिजन काफ्ले र प्रशान्त आचार्यले एक/एक विकेट लिए ।

२२६ रनको लक्ष्य पछ्याएको नवलपुर १६.४ ओभरमा ५१ रनमै अलआउट भयो । सुभम खरेलले १३ र दिपक डुम्रेले ११ रन बनाए भने अन्य व्याटरले दोहोरो अंक छुन सकेनन् ।

नवलपुरलाई सस्तैमा समेट्न रिजन ढकालले ७, रामनरेश गिरी र विपुल खनालले एक/एक विकेट लिए ।

खेलको प्लेयर अफ दि म्याच मकवानपुरका रिजन ढकाल भए । यस्तै चार दिनसम्म चलेको प्रतियोगिताको उत्कृष्ट खेलाडी मकवानपुरका रिजन ढकाल भए । उनले ट्रफी र मेडल प्राप्त गरे । मकवानपुरकै सुव कंशकार उत्कृष्ट व्याटर र नवलपुरका कमल परियार उत्कृष्ट बलर घोषित भए । उनीहरु दुवैले नगद र ट्रफी प्राप्त गरे ।

कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि पौडेलले भरतपुर महानगरपालिकालाई खेलकुदलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको बताए । उनले स्थानीय खेलाडीको स्तरवृद्धिका लागि यसखालको प्रतियोगिता आवश्यक रहेको भन्दै आगामि दिनमा क्रिकेट प्रतियोगिताहरु आयोजना गर्न महानगर सहयोगी भूमिका खेल्ने बताए । उनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई अघि बढाउन महानगर लागि परेको भन्दै छिट्टै बाँकी निर्माण प्रक्रिया अघि बढ्ने बताए ।

नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिका अध्यक्ष राजु चौधरीको अध्यक्षतामा भएको समापन समारोहमा चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले मन्तव्य व्यक्त गरेका थिए ।

समापन समारोहमा सहयोग संस्थाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । चैत १४ गतेदेखि सुरु भएको प्रतियोगिताको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले समुद्घाटन गरेकी थिइन् ।

नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिको आयोजनामा भएको एकदिवसीय प्रतियोगितामा मकवानपुर, चितवन र नवलपुरले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा चितवन लगातार दुई खेलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो भने मकवानपुर अपराजित र नवलपुर एक खेलमा जित निकाल्दै फाइनल पुगेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>