Breaking News

भरतपुरमा स्मार्ट लाइट जडानको काम सुरु,पहिलो चरणमा मुख्य-मुख्य चोकमा काम हुने

Banner

पूजा ढकाल,

चितवन,चैत १६-

भरतपुरको विभिन्न स्थानमा स्मार्ट लाइट जाडान गर्ने काम सुरु भएको छ । उज्यालो शहर अभियानअन्तर्गत भरतपुर माहानगरपालिकाले विभिन्न चोकमा रहेका ट्राफिक आइल्याण्ड हटाएर स्मार्ट लाइट जडान गर्ने काम सुरु गरेको हो ।

भरतपुर महानगरका प्रवक्ता अरुणपीडित भण्डारीका अनुसार महानगरका विभिन्न क्षेत्रमा रहेको आइल्याड हटाएर विगत १५ दिनदेखि स्मार्ट लाइट जडानको काम सुरु भएको छ । भरतपुरको चौबीसकोठी, सहिदचोक, मालपोत चोक, वीरेन्द्र क्याम्पस गेट, रिजालचोक, हाकिमचोक लगायत महानगरको मुख्य चोकमा बत्ती राख्ने योजनाको साथ काम सुरु भएको प्रवक्ता भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारको योजनामा महानगरले काम सुरु गरेको हो ।’ त्यस्तै चोरी तथा लुटपात कम गर्न, दुर्घटना न्यूनीकरण गर्न, शहरी सौन्दर्य बढाउन र मानवमा खुसी दिन समेत स्मार्ट बत्ती महत्वपूर्ण भएकोले स्मार्ट लाइट जडान गर्न लागिएको प्रवक्ता भण्डारीको भनाइ छ । भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको संयुक्त साझेदारीमा काम थालिएको हो ।

अभियान अन्तर्गत ७८ दशमलब १ किलोमिटर सडक क्षेत्रमा एक हजार ९३३ बत्ती जडान गरिने छ । महानगरका अनुसार मूल्य अभिवृद्धि करसहित ११ करोड ४९ लाख ८९ हजार ३०० ठेक्का सम्झौता भएसँगै सेफ स्टिल/सूर्योदय ऊर्जा/टपशन जेभीले धमाधम बत्ती जडानको काम सुरु गरिहेको छ । यसको सुरुआत शुक्रनगरबाट भएको थियो ।

नयाँ वर्षसम्म काम सम्पन्न हुने जनाइएको छ । सुरक्षा र सुन्दरताको दृष्टिकोणले भरतपुरलाई उत्कृष्ट सहर बनाउन ‘उज्यालो सहर’ अभियान सहयोगी बन्ने महानगरको विश्वास छ । यस अभियान अन्तर्गतको बत्ती जडान योजनामा महानगरको १० प्रतिशत साझेदारी छ । यस अभियानअन्र्तगत हाकिम चोक–गीतानगर–जगतपुर सडक खण्डको १८ दशमलब ४६ किलोमिटर सडकमा ४०१ सडक बत्ती जडान हुनेछन् ।

चौबीसकोठीदेखि मेघौलीसम्म २३ दशमलब ८ किमीमा ५६९, मंगलपुरदेखि शुक्रनगरसम्मको २२ दशमलब १३ किमीमा ६५२, पुल्चोकदेखि दियालो बंगलासम्मको २ दशमलब ४२ किमीमा सडक खण्डमा ५८ सडक बत्ती जडान हुने छ । यसैगरी दियालो बंगलादेखि जिल्ला प्रशासन कार्यालयसम्मको ७ दशमलब ८६ किमीमा १६५, बसेनी बजारदेखि लामाटोलसम्मको २ दशमलब १७ किमीमा ५० र वीरेन्द्र क्याम्पस चोकदेखि विशालचोकसम्मको १ दशमलब २६ किमीमा ३८ स्मार्ट सडक बत्ती जडान गरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>