Breaking News

भरतपुर मेयर कप तीन दिवसीय क्रिकेटः चितवनले जित्यो उपाधि

Banner

चितवन, चैत १२–

चितवनमा भएको प्रथम भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि चितवनले जितेको छ । २२३ रनको लक्ष्य पछ्याएको मकवानपुर आज अन्तिम दिन ३७ ओभरमा १४४ रनमै अलआउट भएपछि चितवन ७८ रनले विजयी भएको हो ।

दोस्रो इनिङमा मकवानपुरका लागि आकाश घिमिरेले ४७ र गौरव खड्काले ३४ रन बनाए । चितवनका लागि गौतम केसीले ११ ओभरमा ४७ रन खर्चिदै ६ विकेट लिए भने कृजन गुरुङले १५ ओभरमा ४४ रन खर्चिदै ३ विकेट लिए ।

पहिलो इनिङमा चितवनले ५५ ओभरमा ९ विकेटको क्षतिमा १७६ रन बनाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो । उसका लागि कप्तान दिपेश श्रेष्ठले ६७ र गौतम केसीले ३५ रन बनाएका थिए ।

मकवानपुरका लागि कप्तान रामनरेश गिरीले १३ ओभरमा ३३ रन खर्चिदै ५ विकेट लिए भने सुर्वण भट्टले १३ ओभर ३३ रन खर्चिदै ३ विकेट लिए । पहिलो इनिङमा मकवानपुर पहिलो इनिङमा मकवानपुर १३८ रनमा अलआउट भएको थियो । उसका लागि रामनरेश गिरीले ३१ र गौरव खड्काले २९ रन बनाएका थिए । पहिलो इनिङमा चितवनका लागि कृजन गुरुङले १४ ओभरमा २८ रन खर्चिएर ५ विकेट लिए भने गौतम केसीले १०.४ ओभरमा २ विकेट लिए ।

प्रतियोगितामा मकवानपुरका रामनरेश गिरीले सर्वाधिक ११ विकेट लिए भने चितवनका गौतम केसीले ८ विकेट लिदै प्लेयर अफ दि म्याच घोषित भए । चितवनका कृजन गुरुङले ८ विकेट लिए भने चितवनका प्रतिक श्रेष्ठले प्रतियोगितामा सर्वाधिक ९७ रन प्रहार गरे ।

प्रतियोगिताका विजेता चितवन र उपविजेता मकवानपुरलाई समापन समारोहकी प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गरिन् । सो क्रममा बोल्दै उनले यस प्रकारको प्रतियोगिताले खेलाडीहरुलाई उत्कृष्ट प्रदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

उनले भरतपुर महानगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेको भन्दै आगामि दिनमा पनि यस्तै सहयोग गर्ने बताइन् । उनले हाल अवरुद्ध रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य छिट्टै अघि बढाईने बताइन् । कार्यक्रम नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रा.लि.का अध्यक्ष राजु चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतियोगिताको प्रवद्र्धक संस्थामा भरतपुर महानगरपालिका रहेको थियो भने चितवन जिल्ला क्रिकेट संघले समन्वय गरेको थियो । यसप्रतियोगिता समापन भएलगत्तै सोमबारदेखि सोही खेलमैदानमा भरतपुर मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिता–२०७८ हुँदैछ । प्रतियोगिताको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>